प्रहरीको गोलीबाट कांग्रेस कार्यकर्ता मारिए


नेपाल समाचारपत्र
दोलखा
दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ६ पवटी मतदान केन्द्रमा झडप हुँदा प्रहरीको गोली लागि नेपाली कांग्रेसका एक जना कार्यकर्ताको मृत्यु भएको छ।

शान्तिपूर्णरूपमा मतदान भइरहेको ठाउँमा कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा भागदौड मच्चिएको र प्रहरीले गोली चलाउँदा नेपाली कांग्रेसका कार्यकर्ता स्थानीय करिब ३५ वर्षीय नकुल भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मतपेटिका कब्जा हुने अवस्था आएपछि प्रहरीले गोली चलाउँदा भुजेलको मृत्यु भएको र अन्य १३ जना घाइते भएको बताउनुभयो। घाइतेहरूको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बोहराले जानकारी दिनुभयो।

नेपाली कांग्रेस दोलखाका पूर्वसभापति ताराबहादुर कोइरालाले मतदान गरेर फर्कंदै गर्दा प्रहरीले गोली चलाउँदा आफ्ना कार्यकर्ताको मृत्यु भएको बताउनुभयो। प्रहरीको गोली लागी ३०⁄४० जना घाइते भएको कोइरालाको दाबी थियो। पवटी मतदान केन्द्रमा रहेका प्रहरी निरीक्षक विनोद सुनुवारले झडप भएको पुष्टि गरे पनि मृत्यु भएको बारे जानकारी दिन मानेनन्।