हजुरआमाको अनौठो माया


बोस्टन, (एजेन्सी)
अमेरिकाको बोस्टनमा १ जना ९२ वर्षीया हजुरआमाले हरेक साता आफ्ना विद्यालयमा अध्ययनरत नातीनातिनालाई जनही २० अमेरिकी डलर पठाइ सहयोग गर्दै आएको बुझिएको छ।

आफ्ना नातीनातिनालाई सार्है माया गर्ने उनले पैसासंगै मायाका शब्दहरू भरिएको सानो हस्तलिखितपत्र पनि पठाउने गरेकी थिइन्। म्यारी लाकाभा नामक ती बज्यैले अब अन्तिम अर्थात बाह्रौं नाती पनि चाँडै नै ग्राज्युयट हुन लागेकाले अब भने उक्त नियमितता टुट्ने कुरा बोस्टनको डब्ल्युबिजेड टेलिभिजनलाई बताएकी छिन्।

उनी आफूले शुरु गरेको काम पूरा हुन लागेकोमा खुसी पनि छिन्। निकट भविष्यमा नै ९३ वर्षमा पुग्न लागेकी उनले पठाएको पैसा केही नातीनातीनाले बचत गर्ने गरेको र केहिले तुरुन्तै खर्च गर्ने गरेका थिए।

उनका लरेन लाकाभा नामक नातीले भनेका छन्, ‘अठार वर्ष पुग्न लागेकोमा पनि निकै रमाइलो भइरहेको छ। पहिलोचोटि घरबाट टाढिने भएको छु। अब घरबाट साप्ताहिक रूपमा फोनबाट मात्र हालखबर सोधिन्छ।

मेरी हजुर आमाले मलाई लन्डनमा छँदासमेत नियमित रुपमा २० डलर पठाउनुहुन्थ्यो।’ म्यारी लाकाभाले भने शुरुमा एकपटक मद्दत गर्न खोजेको प्रक्रिया निरन्तर लम्बिँदै गएको बताउँछिन्। उनले सम्भवत त अहिलेसम्म यस कार्यमा ५० हजार डलर खर्च गरिसकेको अनुमान पनि गरेकी छिन्।