महिलालाई प्रवेश निषेध जापानको अनौठो टापु


टोक्यो, (एजेन्सी)
जापानमा अझै पनि यस्तो एउटा टापु छ जहाँ महिलालाई जान अनुमति छैन। उक्त टापुलाई युनेस्को विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रस्ताव दिइएको छ।

असाही सिम्बुन अखबारले जापानको दक्षिण पश्चिमस्थित ओकिनोसिमा आइल्यान्ड धार्मिक कारणले पुरुषलाई मात्र त्यहाँ जाने अनुमति रहेको उल्लेख गरिएको छ।

उक्त टापुमा जानेलाई त्यहाँबाट फर्किँदा मुख्य भूमिमा सम्झनाका लागि भनेर त्यहाँबाट कुनै पनि वस्तु ल्याउन अनुमति छैन। त्यहाँँबाट फर्किनेले घाँस पनि ल्याउन नपाउने अखबारले जनाएको छ।

उक्त टापुका एक परामर्शदाता टोलीले विश्व सम्पदास्थल बनाउन अनुरोध गरेको छ। यसमा आगामी जुलाई महिनामा हुने युनेस्कोको बैठकले अन्तिम निर्णय लिनेछ। टापुमा मुनाकाटा ताइसा ओकित्सुमिया स्राइन रहेको छ र त्यहाँ सुमद्रकी देवीको पूजा हुने गर्छ।

ओकिनोसिमामा प्राचीन कालमा जहाजको सुरक्षाका लागि पूजा गरिन्छ। चौथोदेखि नवौं शताब्दीको बीचमा यस टापुमा कोरियाली प्रायद्विप र चीनबीच व्यापार विनिमय हुने गरेको जापान टाइम्सले जनाएको छ।
प्राचीन समयदेखि प्रचलनमा रहेको धार्मिक प्रतिबन्ध आज पनि यस टापुमा मान्य छ, जसमा महिलालाई आउन प्रतिबन्ध पनि समावेश छ।

यहाँ आउने पुरुषले पनि पहिला नग्न भएर शुद्धीकरण गर्ने एउटा विधि पालना गर्नुपर्ने हुन्छ र उनीबाट उक्त टापुको यात्राका बारेमा कसैसँग कुराकानी हुँदैन भन्ने पनि अपेक्षा गरिन्छ। असाही सिम्बुनले लेखेको छ– ‘टापुलाई विश्व सम्पदास्थल बनाउने प्रक्रियालाई अगाडि बढाएपछि केही अन्य प्रसंगलाई पनि यसमा समावेश गर्न आवश्यक हुनेछ।’

भविष्यमा ओकिनोसिमा टापु पर्यटनका लागि प्रवद्र्धन गर्ने पनि एउटा मुद्दा हुन सक्ने अखबारले जनाएको छ। यद्यपि महिलालाई टापुमा जानका लागि लगाइएको प्रतिबन्ध हटाउने सम्भावना भने अहिले नै नरहेको जनाइएको छ। मुनाकाटा ताइसाका एक अधिकारीले माइनिची डेली अखबारलाई भने– ‘यदि यस टापुलाई विश्व सम्पदा सूचीमा समावेश गर्छ भने पनि हाम्रो दृष्टिकोणमा कुनै परिवर्तन आउने छैन। हामी टापुमा आउनेहरूका लागि नियममा परिवर्तन गर्न सक्दैनौं।’