ढुक्क भएर मतदान गर्नुस्ः गृहमन्त्री


६० स्थान अति संवेदनशील, विशेष सुरक्षा व्यवस्था
ईश्वरराज ढकाल, काठमाडौं
गृह मन्त्रालयले ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा आज हुन लागेको निर्वाचनमा ६० स्थान अति संवेदनशील रहेको आंकलन गरेको छ।

मन्त्रालयले तयार पारेको सुरक्षा रणनीतिमा ५५ देखि ६० स्थानलाई अति संवेदनशीलको सूचीमा राखिएको छ। ती स्थानमा तीनै सुरक्षा निकाय परिचालन गरी त्यहाँको सुरक्षा व्यवस्था अति कडा पारिएको छ। अति संवेदनशील स्थानमा सुरक्षा निकायबाट हवाइ गस्ती र हाइ प्वाइन्ट ड्युटी भइरहेको जनाइएको छ।

सुरक्षा स्रोतका अनुसार निर्वाचन बहिष्कार गर्दै आएको विप्लवनिकट माओवादीको चहलपहल हुने क्षेत्रलाई अति संवेदनशील स्थानको रूपमा राखिएको छ। ‘ती स्थानमा कस्तो सुरक्षा व्यवस्था गरिएको छ भन्नै मिल्दैन।’–उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले भन्नुभयो। सुरक्षा संवेदनशीलता बारे कुनै जानकारी नै दिन नमिल्ने उहाँको भनाइ थियो।

स्थानीय तहको निर्वाचनमा झण्डै ६३ हजार सुरक्षाकर्मी परिचालित हुने भएका छन्। ३ र ४ र ६ प्रदेशमा हुन लागेको निर्वाचनमा २ हजार ५ सय ७५ नेपाल प्रहरी, १७ हजार ३ सय ५६ सशस्त्र र ३ सय ८३ राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र २२ हजार ६ सय २ म्यादी प्रहरी परिचालन हुनेछन्।

उप–प्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह निर्वाचनको सुरक्षाको अवस्थाबारे जानकारी गराउँदै ढुक्क भएर मतदान गर्न सबै मतदातालाई आग्रह गर्नुभयो। उहाँले सुरक्षाको सम्पूर्ण व्यवस्था मिलाएको जानकारी गराउँदै सबै मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्नसमेत आग्रह गर्नुभयो।

हिजो शनिबार निर्वाचनको सुरक्षा अवस्थाबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उहाँले आवश्यकताअनुसार थप ५ हजार फोर्स तयारी अवस्थामा रहेको जानकारी दिनुभयो।

उहाँले सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र बाहिरी घेरामा नेपाली सेना रहने जानकारी दिनुभयो। मतदानको समयमा हवाइ, पैदल र हाइ प्वाइन्ट ड्युटीको व्यवस्थासमेत गरेको जानकारी दिनुभयो।

तीनै सुरक्षा प्रमुखको उपस्थितिमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले मत गणना परिणम घोषणापश्चात् विजय जुलुसको रूपमा निस्कने र्याली र सभामा पनि सुरक्षा व्यवस्थालाई कडाइ गरिने बताउनुभयो। सबै दललाई आग्रह गर्दै उहाँले भन्नुभयो– ‘हामी सुरक्षा दिन तयार छौं तर राजनीतिक दलको उम्मेदवारलाई कुनै पनि विजय उत्सव गर्दा स्थानीय प्रशासनसंग समन्वय गर्न आह्वान गर्दछु।’
मतदानमा खटिने कर्मचारी, उम्मेदवार र मतदाताहरूको समेत सुरक्षा प्रबन्ध गरेको जानकारी गराउँदै गृहमन्त्री निधिले सबैका लागि सुरक्षा मजबुत बनाएकाले निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न अनुरोध गर्नुभयो। उहाँले निर्वाचन विथोल्न खोज्ने केहीलाई नियन्त्रण गरिसकेको र केही खोजीका क्रममा रहेको बताउनुभयो।

गृहमन्त्रालयको तथ्याङकअनुसार प्रदेश नम्बर ३ मा १ हजार ७ सय ८० मतदानस्थल, ३ हजार ४ सय ९० मतदान केन्द्रमा १० हजार ३ सय ७६ नेपाल प्रहरी, ८ हजार ९ सय ३५ सशस्त्र प्रहरी, १ सय ७५ राष्ट्रिय अनुसन्धान र १० हजार ५ सय ९० म्यादी प्रहरी परिचालन गरिएको छ।

प्रदेश नम्बर ४ मा १ हजार २ सय ४७ मतदानस्थल, ३ हजार ४ सय ९० मतदान केन्द्रमा ७ हजार ५४ नेपाल प्रहरी, ३ हजार ९ सय ७३ शसस्त्र र १ सय १५ राष्ट्रिय अनुसन्धान, र ७ हजार ३५ म्यादी प्रहरी परिचालन गरिएको छ।
त्यस्तै प्रदेश नम्बर ६ मा ८ सय ९५ मतदान स्थल, १ हजार १ सय ९९ मतदान केन्द्रमा ५ हजार १ सय ४५ प्रहरी, ४ हजार ४ सय ४८ शसस्त्र, ९३ अनुसन्धान र ४ हजार ९ सय ७७ जना म्यादी प्रहरी खटाइएको छ।

आवश्यकता अनुसार नेपाली सेनाले सुरक्षा प्रदान गर्ने मन्त्री निधिले जानकारी दिनुभयो। मतदानपश्चात मतपेटिकालाई गणनास्थलसम्म ल्याउन सबै सुरक्षाकर्मीबाट स्कर्टिङको
व्यवस्था गरिएको जानकारी मन्त्रालयले दिएको छ।