मौन अवधिमा एमालेको पत्रकार सम्मेलन, सरकारको दादागिरी, निरीह निर्वाचन आयोगः ओली


नेपाल समाचारपत्र
काठमाडौं
निर्वाचनमा सरकारले आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग निरीह भएको प्रमुख विपक्षी एमालेले आरोप लगाएको बताइएको छ। एमालेले सरकारले व्यापकरूपमा आफ्ना पार्टीमाथि धरपकड गरेको र सत्ताको दुरुपयोग गरेको बताएको हो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको निष्पक्षताको ग्यारेन्टी गर्न सरकारसँग माग गर्नुभएको छ। मौन समयको अवधि पारेर पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार निर्वाचनमा व्यापकरूपमा धाँधलीमा उत्रिएको बताउनुभयो।

सरकारले व्यापकरूपमा निर्वाचनको आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुकदर्शक बनकोप्रति आक्रोश व्यक्त गर्दै ओलीले भन्नुभयो– ‘निर्वाचन आयोग आफ्नो संवैधानिक अधिकारमा निर्णयक हुनुहोस्।’

स्थानीय तहको निर्वाचनपछि सत्ताधारी दल झोक्राउने बताउँदै विपक्षी दलका नेतासमेत रहनुभएका एमाले अध्यक्ष ओलीले जेठ ३ को निर्वाचनपछि ओछ्यान लगाएर सुत्ने भन्दै व्यंग्य गर्नुभयो। निर्वाचनका बेला सरकारले रकमान्तर गर्ने, पीडितलाई पैसा वितरण गर्ने र विभिन्न काम, ठेक्कापट्टाका लाइसेन्स दिने काम गलत भएको बताउनुभयो।

सत्तारुढ दल कांग्रेस र माओवादीलाई प्रश्न गर्दे ओलीले भन्नुभयो– ‘कांग्रेस र माओवादीले देशलाई कता लैजान चाहनुहुन्छ, के यसरी पनि निर्वाचन स्वच्छ र निष्पक्ष हुन्छ?’ उहाँले निर्वाचनमा प्रभाव पार्न भ्रष्टाचारको पैसा वितरण गर्ने, विपक्षीमाथि शारीरिक हमला गर्ने प्रवृत्ति गलत भएको बताउनुभयो।

सरकारले नियतवश वैशाख ३१ गते एक चरणमा हुने निर्वाचन जेठ ३१ गतेको लागि सारिएको आरोप लगाउँदै जेठ ३१ मा मुस्लिम समुदायको रमजान परेकाले सो समयमा भोकै बसेका मुस्लिमहरूले मतदान गर्न वा उम्मेदवार बन्न निकै कठिनाइ हुने बताउनुभयो।
जेठ ३१ को चुनाव सार्नेबारे आफूले वैशाख ९ गते नै सरकारलाई सम्झाएको बताउँदै अध्यक्ष ओलीले चुनाव गर्न नचाहने सरकारले चुनावको घोषणा गरे पनि अनेक गलत मनसायले दोस्रो चरणको चुनाव जेठ ३१ गतेलाई सारिएको बताउनुभयो।

ओलीले दोलखा घटनामा मारिएका आफ्ना कार्यकर्तालाई सरकारले शहीद घोषणा गर्नुपर्ने माग गर्नुभयो। ‘देशभर धरपकड गरिएको छ, निर्वाचनमा मतदान गर्नुपर्ने एमालेका कार्यकर्ता बी एन्ड बी र टिचिङ अस्पतालमा उपचार गराइरहेका छन्, मन्त्रीहरू पैसा बाँड्न जाने, योजना बाँड्न जाने, के यही हो आचारसंहिता?’ उहाँले प्रश्न गर्नुभयो।

दोस्रो चरणको चुनावअघि स्थानीय तहको संख्या हेरफेर गर्न नपाइने बताउँदै उहाँले सरकारले पुनः ११ जिल्लामा निर्लज्ज ढंगले स्थानीय तहको संख्या बढाउने तयारी गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै यति निर्लज्जता त पञ्चायतले पनि नगरेको बताउनुभयो। ‘अहिले २८३ स्थानीय तहमा चुनाव हुँदै छ, दोस्रो चरणमा ७४४ मध्ये कति स्थानमा आयोगले चुनाव गर्दै छ? किन जिब्रो चपाउँछ निर्वाचन आयोग दोस्रो चरणमा संख्या थप्ने होइन, बाँकी रहेको तहमा मात्र निर्वाचन गर्नुपर्छ।’ –ओलीले भन्नुभयो।

सरकारले राखेको मागलाई कारण देखाउँदै सरकारले जेठ ३१ गतेका लागि निर्वाचन सारेको बताउँदै निर्वाचनको मिति घोषणा गरेर स्थानीय तहको संख्या बढाउने सरकारको दादागिरी भएको बताउनुभयो। कतिपय जिल्लामा भइरहेका बम विस्फोटनका घटना पनि सत्तापक्षले गराएको हुनसक्ने आशंका व्यक्त गर्दै ओलीले सरकारमाथि प्रश्न गर्दै भन्नुभयो– ‘यी बिस्फोटनहरू कसले गराइरहेका छन्? जिम्मा लिएकाले मात्रै हो कि जिम्मा नलिएकाले पनि गराएको हो? एमालेका प्रचार सामाग्रीहरू डिस्ट्रोय गराइयो। उहाँहरूसँग बंग्याउने, भाँच्ने कला रहेछ, यतिसम्म बेइमानी गर्न सक्नुहुन्छ।’