विप्लव माओवादीद्वारा ट्रकमा आगजनी


डोटी, (नेस)
बन्दको अवज्ञा गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी विप्लव समूहका कार्यकर्ताले डोटीमा एक मालबाहक ट्रकमा आगजनी गरेका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारीअनुसार डोटीको शिखर नगरपालिका वडा नं. ८ गोल्मागाढ नजिक भे १ ख ११५१ नम्बरको ट्रकमा आगजनी गरेका हुन्। नेपालगन्जबाट अछामका लागि चाउचाउ लिएर आएको उत्त ट्रकमा आज शनिबार बिहान माओवादी विप्लव समूहका कार्यकर्ताले आगजनी गरेका हुन्।

आगजनीबाट ट्रक पूर्ण रूपमा जलेर नष्ट भएको छ भने आगजनीमा संलग्नको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दिल्लीराज विष्टले बताउनुभयो।

माओवादी विप्लव समूहका कार्यकर्ताले ट्रकमा आगजनी गरेपछि अहिले सो क्षेत्रमा प्रहरी प्रमुख विष्टसहित ठूलो संख्यामा प्रहरी तथा म्यादी प्रहरी परिचालन भएका छन्।