खेदाका बासिन्दा भन्छन् बस्ती बचाउनेलाई भोट


हेमन्त पौडेल, फूलबारी,कैलाली
२०७० सालको निर्वाचनपछि फेरि यतिखेर साविकको फूलबारी गाविसको खेदा बस्तीमा राजनीतिक पार्टीको गतिविधि बढेको छ। तत्कालीन निर्वाचनको समयमा भोट माग्न खेदामा पुगेका राजनीतिक पार्टीका नेताहरू यसपटकको स्थानीय निर्वाचन हुने भएपछि फेरि भोट माग्न आउन थालेको स्थानीय बासिन्दाहरू बताउँछन्।

निर्वाचनका बेला भोट माग्नबाहेक अन्य कुनै समयमा जनताको समस्याका बारेमा बुझ्न नआउने राजनीतिक पार्टीहरू यतिबेला फेरि गाउँमा आउन थालेको स्थानीय बासिन्दा रत्ना चौधरीले बताउनुभयो। मोहना नदीको कटानका कारण अस्थित्व संकटमा परेको खेदा बस्तीका बारेमा कुनै चासो नराख्ने नेताहरू यतिबेला नजिकको सम्बन्ध बनाउँदै गाउँ आउने गरेको उहाँको भनाइ छ।

मोहनाको कटानले खेदाको १ सय ५५ घरपरिवार संकटमा परेका छन्। वर्षेनी नदी कटानका कारण खेतीयोग्य जमिन कटान गनुका साथै घरहरू विस्थापित हुने गरेका छन्। तर त्यसको स्थायी समाधानका लागि बारम्बार आग्रह गरे पनि सुनुवाइ नभएको स्थानीय बासिन्दा बमबहादुर चौधरीले बताउनुभयो। ‘अघिल्लो चुनावका समयमा खेदा क्षेत्रको नदी नियन्त्रण गर्ने भन्दै करिब एक किलो मिटर सर्भे गरिएको थियो तर अहिलेसम्म सर्भे गरेको टोली फेरि फर्किएको छैन’ –चौधरीले गुनासो गर्नुुुभयो। यसपटकको निर्वाचनमा पनि दलका नेताहरू भोट माग्दै खेदामा पुग्ने गरेका छन्।

‘मोहना नदी नियन्त्रणका लागि आफ्नो तर्फबाट काम गर्ने प्रतिबद्धता जनाउने गरे पनि स्थानीय बासिन्दाले जसले खेदाको समस्या समाधान गर्छ उसैलाई भोट दिने निष्कर्षमा आफूहरू पुगेको स्थानीय बासिन्दा अशोका चौधरीले बताउनुभयो। आफ्नो बस्ती बचाउनेलाई भोट दिन्छाँै’ –उहाँले भन्नुभयो। हरेक वर्ष आफूहरूको खेतीयोग्य जमिन बगरमा परिणत हुँदै छ तर कटान रोक्नका लागि नेताहरूले केही नगरेको गुनासो चौधरीको छ।

निकै असुरक्षित बन्दै गएको खेदालाई बचाउने वास्तविक योजना जुन उम्मेदवारले लिएर आउँछ उसैलाई भोट हाल्छांै –रत्नाले भन्नुभयो। ‘यसभन्दा अघि धेरै पार्टीका नेताहरूले धेरै मौखिक आश्वासन दिए तर यसपटक लिखित प्रतिबद्धता जसले गर्छ उसैलाई भोट दिने निर्णय गरेका छौं’ –उहाँले भन्नुभयो। १ सय ५५ घरधुरीको विचल्ली हुने अवस्था छ तर सबैले आफ्नो स्वार्थ मात्र हेरिहेका छन् उहाँको भनाइ छ।

जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनको प्रचारका क्रममा सबै पार्टीका नेताहरू खेदा पुग्ने गरेका छन्। हामी विजयी भएमा यो क्षेत्रको विकासमा कुनै कमी गर्दैनौं भन्छन तर अवस्था पुरानै हुन्छ भन्ने हामीलाई थाहा छ –खुशीराम चौधरीले बताउनुभयो। ‘पहिला पनि निर्वाचनका बेलामा खेदाको समस्या समाधान गर्छांै भनेका थिए तर चुनावपछि कोही पनि फर्किएनन्’ –चौधरीको गुनासो छ।

वर्षात्को मौसम शुरु हुनै लाग्दा हामीलाई निद्रा लाग्न छोडेको छ र भोक पनि हराउन थाल्यो यसपटकको बाढीले खेदाको अस्थित्व संकटमा पार्छ भन्ने चिन्ता लागेको छ स्थानीय तुलाराम चौधरीले बताउनुभयो। खेदाका १५५ घर पूरै चौधरी समुदायका रहेका छन्। ‘उधारो कुराबाट हामी विश्वास गर्दैनौं जसले हामीलाई लिखित दिन्छ उसैलाई भोट हाल्छांै स्थानीयको भनाइ छ। यसभन्दा अघि धेरैपटक ठगियौं अब हामी पनि बाठा भइसकेका छौं’ –डसनी चौधरीले भन्नुभयो।

गत भदौमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई स्थानीय बासिन्दाहरूले आफ्नो वस्ती अबलोकन गरिदिन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी रिजाल खेदा पुग्नुभएको थियो। वर्षात्का कारण मोहनाले कटान तीव्र पारेको देखेपछि केही सरकारी निकायको समन्वयमा कटानलाई रोक्न बोरा उपलब्ध गराइएको थियो।