कपिलवस्तुको रोजिन एण्ड टर्पेन्टाइन फैक्ट्रीमा आगलागी


२० टन कच्चा पदार्थ (सल्ला खोटो) जलेर नष्ट, ५० लाखको क्षति
सीताराम चौधरी, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका ६, गडगौरास्थित गणपति रोजिन एण्ड टर्पेन्टाइन इन्डष्ट्रिज प्रा.लि.मा आगलागी हुँदा अन्दाजी ५० लाखको क्षति भएको छ ।

फैक्ट्रीको प्लट नम्बर ३ को हिटिङ ट्यांकीको भठ्ठीमा शुक्रबार दिउँसो २ बजे एक्कासी आगो लागेको हो । आगलागीबाट ३ नम्बर प्लटको ४ ओटा भठ्ठीमा पकाउनका लागि तयार गरिएको खोटो जलेर नष्ट भएको हो । फैक्ट्रीका म्यानेजर जीवनारायण खनालका अनुसार पकाउनका लागि तयार गरिएको झण्डै २० टन माल जलेर नष्ट भएको हो ।

दोस्रो तल्लामा रहेको उक्त भठ्ठीमा आगो लाग्दा त्यहाँ रहेका तयारी माल समेत जलेको बताइएको छ । साथै आगलागीबाट एउटा मेसिन र टिनको छानो भएको पक्की घरमा समेत ठूलो क्षति भएको फैक्ट्रीका म्यानेजर खनालले बताउनुभयो । सल्लाको खोटो पकाएर आगो निभाएको भएपनि अत्यधिक तापका कारण आगो सल्किएको हुन सक्ने त्यहाँ कार्यरत कर्मचारीको भनाई छ ।
आगलागी भए लगत्तै वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएका नेपाल प्रहरी तथा म्यादी प्रहरीले कच्चा पदार्थ आगो लागेको भवनबाट हटाएका थिए । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक झविन्द्र भट्टराईको कमाण्डमा झण्डै ३ दर्जन प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको थियो । यसैगरी आगो नियन्त्रणमा ल्याउन सशस्त्र प्रहरी बल विन्ध्याबासिनी गणका सशस्त्र प्रहरी नायब उपरीक्षक गोपाल प्रसाद श्रेष्ठको कमाण्डमा ३५ जना सशस्त्र प्रहरी परिचालन भएका थिए । यस्तै सशस्त्र प्रहरी बेसक्याम्पका सशस्त्र प्रहरी निरीक्षक बीपी कुँवरको नेतृत्वमा समेत झण्डै एक दर्जन सशस्त्र प्रहरी परिचालन भएका थिए ।

कृष्णनगरबाट आएको दमकलको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले एक घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । यसअघि पनि सोही फैक्ट्रीमा दुई पटक आगो लागिसकेको फैक्ट्रीका म्यानेजर जीवनारायण खनालले बताउनुभयो । झण्डै दुई दशकदेखि फैक्ट्रीमा सल्लाको खोटोबाट टर्पेन्टाइन उत्पादन गरिँदै आएको छ । फैक्ट्री परिसरमै एक सय बढी कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् ।