बिष्णुप्रसाद भण्डारी, अछाम । रगत अभावमा मृत्युसँग लडिरहेकी चाल्सा अछामकी दुधकला साउँदलाई जिल्ला अस्पतालका डाक्टरहरुले आफैँ रगत दान गरेर बचाएका छन् ।
रगतको मात्रा कम हुँदा सुत्केरी हुन नसकेर छटपटाइ रहेकी कमलबजार नगरपालिका वडा नं. १० चाल्सा निवासी २६ बर्षीया साउँदलाई जिल्ला अस्पताल अछामका डाक्टरहरुले आफै रक्तदान गरेर शल्यक्रिया मार्फत बचाएका हुन् ।
गत मंगलबार अस्पताल भर्ना भएकी साउँदका आफन्तले रगत जुटाउन नसक्दा डाक्टर सुबास लामिछाने र स्टाफ नर्स बसुन्धरा भुषालले तीन पोका रगत दान गरेको जिल्ला अस्पताल अछामले जानकारी दिएको छ । अछाम जिल्लामा स्वास्थ्यकर्मीहरुले नै रगत दान गर्नु परेको यो पहिलो घटना हो ।
रक्तदान गर्दा कमजोर भईन्छ भन्ने भ्रमका कारण बिरामीकै आफन्तहरुले समेत रगत दिन आलटाल गर्ने गरेका कारण कयौ सुत्केरीहरुलाई समस्या पर्ने गरेको अस्पताल प्रमुख डाक्टर शरदचन्द्र बरालले बताउनुभयो । खासै रगत खपत नहुने भएकाले नेपाल रेडक्रस सोसाइटीले समेत ब्लड बैंकमा रगत स्टोर गर्न बन्द गरेको छ । लामो समय स्टोर गरिएको रगत काम नलाग्ने भएकाले रक्तदाता खोजेर ब्लड ट्रान्सफर गर्ने गरिएको रेडक्रसका सभापति रत्न प्रसाद ढुंगानाले बताउनुभयो ।
तर रगत दिए कमजोर भइन्छ भन्ने भ्रमका कारण मानिसहरु अहिले पनि सजिलै रगत दिन मान्दैनन् । अत्यावश्यक परेका बेला जहिले सेना, प्रहरी र स्वास्थ्यकै कर्मचारीहरुले रगत दिने गरेको जिल्ला अस्पताल अछामले जनाएको छ ।
प्रतिक्रिया