राष्ट्रपति थाइल्यान्डमा


थाइल्यान्ड (बैङ्कक), २९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी श्रीलङ्का र थाइल्यान्डको पाँचदिने औपचारिक भ्रमणका क्रममा केहीबेर अघि थाइल्यान्डको सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थल बैङ्ककमा अवतरण हुनुभएको छ ।

राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा थाइ नरेशका प्रतिनिधि प्रिभी काउन्सिलर चारुनथाडा कर्नसुथ, थाइल्याण्डका डिजिटल, आर्थिक तथा समाज मन्त्री पिचेट डुरोङ्गकाभेरोजले ( तथा थाइल्याण्डका विदेश मन्त्रालयका उच्चपदस्थ प्रतिनिधिहरुले भव्य स्वागत गर्नुभएको छ ।

त्यसअघि विमानबाट ओर्लिएलगत्तै थाइल्यान्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले उहाँलाई स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारी विमानस्थलबाट उहाँलाई आतिथ्य दिइएको नोभोटेल होटल जानुभएको छ ।

राष्ट्रपति भण्डारीले आज साँझ थाइल्यान्डस्थित ग्रान्ड प्यालेसमा राखिएकोे स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नु हुनेछ ।
गतवर्ष असोज २७ गते निधन हुनुभएका थाई राजा भूमिबलको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ । उहाँको अन्त्येष्टि बौद्धधर्म परम्परानुसार आगामी कात्तिक ९ गते त्यहीँ प्यालेसको एउटा गार्डेनमा गरिने जनाइएको छ ।

राजा भूमिबलको निधनपछि विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा नेता बैंकक पुगेर उहाँको पार्थिव शरीरमा माल्यार्पण गर्दै आएका छन् ।

राष्ट्रपति भण्डारीको सम्मानमा आज साँझ थाइल्याण्डस्थित नेपाली राजदूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि उहाँ सहभागी हुने कार्यक्रम छ ।

राष्ट्रपतिको भ्रमणमा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकी, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका वैदेशिक मामिलाविज्ञ डा मदनकुमार भट्टराई र सचिव भूपेन्द्रप्रसाद पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव (दक्षिण एसिया महाशाखा) भृगु ढुङ्गाना, शिष्टाचार महापाल दीपक अधिकारी र शिष्टाचार अधिकृत कुलबहादुर मगर, सञ्चारकर्मीलगायत उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कनुहुने छ । रासस