ठाउँ ठाउँमा सवारी दुर्घटना


नेपाल समाचारपत्र, काठमाडौं । सिराहाको धनगढीमाई नगरपालिका–१० महेन्द्र राजमार्ग स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले नाम, थर, वतन नखुलेका तराईबासी जस्तो देखिने करीब ४० वर्षीय पैदलयात्रीलाई शुक्रबार ठक्कर दिई गम्भिर घाईते बनाएकोले उपचारको लागि रा.उ.स्मारक अस्पताल लहान लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
त्यस्तै हुम्लाको सिमिकोट गाँउपालिका–६ स्थित चिसामुल स्थित सडकमा लु २ त २०७२ नम्बरको ट्याक्टरबाट लेवरहरु खस्दा बाजुरा गोत्री–३ घर भएका ३५ वर्षीय जगत परियारलाई पछाडीको टायरले किचेर उनको बिहीबार घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
सिन्धुलीको फिक्कल गाँउपालिका–४ स्थित मध्य पहाडी लोकमार्गमा बैशाख २६ गते बा.१५ च ३९१९ नम्बरको बलेरो जिपबाट तल झर्ने क्रममा सोही ठाउँ बस्ने ३१ वर्षीय गोविन्द भुजेल लडेर गम्भीर घाईते भएकाले घुर्मिबाट धुलिखेल अस्पताल काभ्रे हुँदै कान्तिपुर अस्पताल सुविधानगर काठमाडौ लगेकोमा उपचारको क्रममा बिहीबार मृत्यु भएको छ ।

गाडी र चालकलाई अस्थाई प्रहरी पोष्ट खाङसाङले नियन्त्रणमा लिइएको छ ।
गुल्मीको ईश्मा गाँउपालिका–४ दोली स्थित तम्घासबाट खाद्यान्न ल्याई ईश्मा आउँदै गरेको लु.१ च ६६८४ नम्बरको जिप बाटोबाट करीब १५० मिटर तल खस्न गई दुर्घटना हुँदा जिपमा सवार सोही ठाउँ बस्ने ४० वर्षीया कल्पना गन्धर्वको बिहीबार घटनास्थलमै मृत्यु भएको छ । सोही ठाउँ बस्ने २७ वर्षीया हुमकला बि.क.समेत ४ जना घाईते भएकाले उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।

त्यस्तै धादिङको त्रिपुरासुन्दरी गाँउपालिका–१ खोल्ची स्थित सडकमा ग.१३ प ३०६० नम्बरको स्कुटरलाई बा.३ ख ३५५९ नम्बरको ट्रकले बिहीबार पछाडीबाट ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँ बस्ने ३० वर्षीय रमेश श्रेष्ठ र पछाडी सवार उनकी २६ वर्षीया श्रीमती सुनिता श्रेष्ठ गम्भिर घाईते भएकाले दुवै जना घाईतेलाई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र सल्यानटार पठाएकोमा रमेशको उपचारको क्रममा मृत्यु भएको छ ।

दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिई फरार ट्रक चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।