चीनमा शक्तिशाली भूकम्प, ८ जनाको मृत्यु


बेइजिङ, (एजेन्सी)
चीनको सिन्जियाङ क्षेत्रमा बिहीबार आएको शक्तिशाली भूकम्पमा परी कम्तीमा ८ जनाको मृत्यु र २० जनाभन्दा बढी घाइते भएका छन्।

टेक्सकोरगनमा मात्रै ८ जनाको मृत्यु भएको र १ हजार ५ सयभन्दा धेरै घरलाई क्षति पुगेको अधिकारीहरूले जानकारी दिएका छन्। भूकम्पबाट करिब १२ हजार नागरिक प्रभावित भएका छन्।

उक्त भूकम्पको मापन ५ दशमलव ५ म्याग्निच्युड भएको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ। भूकम्प स्थानीय समयअनुसार बिहान ५ बजेर ५८ मिनेटमा आएको जनाइएको छ। चीनको भूकम्प प्रशासनले उक्त भूकम्पको केन्द्रबिन्दु पामिरको दक्षिणपूर्वी क्षेत्रमा सतहबाट ८ किलोमिटरको गहिराइमा रहेको जनाएको छ। बिहान १० बजेसम्म ८२ वटा पराकम्पन महसुस गरिएको सिन्जियाङको भूकम्प विज्ञान विभागले जनामएको छ।

भूकम्पको केन्द्र बिन्दु टेक्सकोरगन काउन्टीलाई खाली गरिएको अधिकारीहरूले बताए। त्यहाँका ९ हजार २ सय नागरिकलाई सुरक्षित स्थानमा सारिएको उनीहरूले बताए। कुजगुन गाउँमा घरहरूमा चिरा परेको र करिब १ सय ८० घर भत्केको बताइएको छ। धेरैजसो घर काठ र माटोले बनेकाले मानवीय क्षति कम एको अधिकारीहरूले जानकारी दिए।
सन् २००८ मा चीनमा आएको ७ दशमलव ९ रिक्टर स्केलको भूकम्पमा ९० हजारको मृत्यु भएको थियो।