ट्रम्पद्वारा कोमीको बर्खास्त सही भएको ठहर


वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय एजेन्सी एफबीआईका निर्देशक जेम्स कोमीलाई पदमुक्त गर्ने फैसला सही भएको बताएका छन्। कोमीलाई पदमुक्त गरेर ट्रम्पले सबैलाई आश्चर्यमा पारेका छन्।

ट्रम्पले ट्विटमा हिलारी क्लिन्टनको इमेल मामिलाको जाँचलाई लिएर जेम्स कोमीलाई हटाउनुपरेको लेखेका छन्। कोमीले ट्रम्पको राष्ट्रपति चुनाव प्रचार र रुसको सम्बन्धलाई लिएर एफबीआई छानबिनको नेतृत्व गरिरहेका थिए।
हाउस अफ इन्टेलिजेन्स कमिटीका प्रमुख डेमोक्रइट नेता एडम सिफले भने– ‘कोमीको बर्खास्तले गम्भीर प्रश्न उठाएको छ। यसले ह्वाइट हाउसको जिद्दीपनले आपराधिक मामिलामा हस्तक्षेप भइरहेको छ।’

तर रुसी विदेशमन्त्री सर्गेइ लाभरोवसँगको भेटघाटपूर्व ट्रम्पले आफ्नो फैसला उपयुक्त भएको बताए। लाभरोव पहिलो रुसी अधिकारी हुन् जसले डोनाल्ड ट्रम्पसँग राष्ट्रपति बनेपछि भेट गर्दै छ।
ट्रम्पले भने– ‘जेम्स कोमीको स्थानमा कुनै त्यस्तो व्यक्ति नियुक्त गरिनेछ जसले यो कामलाई राम्रोसँग पूरा गर्नेछ र एफबीआईको प्रतिष्ठा र उत्साहलाई पुनः स्थापित गर्नेछ।’

उनले भने– ‘कोमीले वासिङ्टनको विश्वास गुमाइसकेका छन्, चाहे त्यो रिपब्लिकन होस् वा डेमोक्रइट। जब सबै शान्त हुनेछ त्यतिबेला उनले मलाई धन्यवाद दिनेछन्।

अमेरिकामा एफबीआई प्रमुखलाई पदबाट बर्खास्त गरिएको यो दोस्रो पटक हो।

अमेरिकाको आन्तरिक मामिलाः रुस
रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोवले कोमीलाई हटाइनु अमेरिकाको आन्तरिक मामिला भएको बताएका छन्। रुसको सरकारी समाचार एजेन्सी तासले यस घटनामा रुसको कुनै लेन देन नभएको पेस्कोवको भनाइलाई उद्धृत गरेको छ।

यसैबीच डेमोक्रइट नेता चक शुमरले आवश्यक भएमा आफूले न्याय विभागका वरिष्ठ नेता तथा सबै सिनेटरसँग एक गोप्य बैठक माग गर्न सक्ने बताए। उनले एफबीआईको जाँचको निगरानी एक विशेष अधिवक्ताबाट गराउन पनि अपिल गरे। त्यसै गरी सिनेटको इन्टेलिजेन्स कमिटीका प्रमुख रिपब्लिकन नेता रिचर्ड बर्रले जेम्स कोमीलाई हटाइएको घटनालाई लिएर आफू चकित परेको बताए। ट्रम्पले कोमीलाई लेखेको पत्रमा आफू कोमीले ब्युरोको नेतृत्व सही ढंगले नगरेको भन्ने महान्यायाधिवक्ता जेफ सेसन्सको सिफारिससँग सहमत भएको उल्लेख गरेका थिए।

यद्यपि कोमीलाई हिलारी क्लिन्टनको इमेल प्रकरणको जाँचबाट हटाइएकोमा धेरैले आश्चर्य प्रकट गरेका छन्। यस मामिलामा कुनै बेला ट्रम्पले कोमीको प्रशंसासमेत गरेका थिए।

मंगलबार ट्रम्पले उपमहान्यायाधिवक्ता रड रसेन्टिनको सिफारिसलाई सदर गरेका थिए। उनले क्लिन्टनको मामिलामा कोमीले जसरी छानबिन गरिरहेको छ त्यसलाई सही भन्न नसक्ने बताएका थिए। कोमीले सन् २०१६ जुलाईमा क्लिन्टको इमेल मामिलामा बिनामुद्दा चलाई जाँच बन्द गर्ने फैसला महान्यायाधिवक्ताले दिनुपर्नेमा आफैले सुनाएर सही नगरेको उनले बताए।