जनता भन्छन् “काम गर्नेलाई भोट हाल्ने हो”


 

वैशाख ३१ गते पहिलो चरणमा हुन लागेको स्थानीय निर्वाचनका लागि प्रचारप्रसार गर्ने समय बिहीबार राति १२ बजेबाट सकिएको छ। उम्मेदवारहरुले आफ्नो कुरा भनिसकेकाले मतदाताहरु भने उनीहरुको मूल्यांकनमा लागेका छन्। के भन्छन् त जनता ? प्रस्तुत छ, सुरेश तामा·ले सर्वसाधारण नागरिकहरुसँग गरेको कुराकानीः

“भाषणभन्दा काम गर्नेलाई मत”

हाम्रोतिर दोस्रोपटक चुनाव हुने हो। चुनावमा भाषणभन्दा बढी काम गर्नेलाई पहिचान गरी मत खसाल्नेछु।

ईन्द्रकुमार कुलुङ
संखुवासभा–५

‘देशलाई माया गर्नेलाई भोट’
इमानदार, स्वच्छ छवि भएका, गाउँपालिकालाई सही दिशातिर हाँक्न सक्ने उम्मेदवारलाई मेरो मत रहनेछ। राष्ट्रलाई माया गर्ने र त्यहीअनुसार गाउँलाई समेत अगाडि बढाउने नेतालाई मेरो भोट रहनेछ।

कृष्ण केसी
बढैया गाउँपालिका,
बर्दिया (हाल काठमाडौं)

‘भोट हाल्न जाने हो’
नेताहरु चुनावका बेला नरम हात मिलाउन आउँछन् तर चुनावपछि के गर्छन् त्यो हामीले देखेकै कुरा हुन्। आशा त छैन यी उठेका नेताहरुको तर भोट हाल्न चाहिँ जानुपर्छ। केही गर्ने जस्तोलाई चाहिँ दिने हो।

गोपाल खड्कावली
धुनिबेसी नगरपालिका–२,
धादिङ (हाल काठमाडौं )

‘जनतामा भिजेकालाई भोट’
गाउँस्तरमा जनजनमा भिजेका, सबैको चित्त बुझाएर विकास गर्न सक्ने नेतृत्व भएकालाई मेरो पूर्ण समर्थन रहनेछ। भ्रष्टाचारलाई दुरुत्साहित गर्दै सदाचारलाई प्रोत्साहित गरेर गाउँ विकासमा लाग्ने विचार बोकेकालाई मेरो मत हुनेछ। उम्मेदवार त हिम्मतदार हुनुपर्यो नि।

प्रकाश श्रेष्ठ
कोन्ज्योसोम गाउँपालिका, ललितपुर।

“क्षमतावानलाई छान्ने हो”

यसपटकको चुनावमा त हाम्रोलाई भन्दा पनि राम्रोलाई छान्ने हो। इमानदार, स्वच्छ छवि भएका क्षमतावान् उम्मेदवारलाई मेरो समर्थन हुनेछ।

सुनिल खड्का
गोदावरी नगरपालिका–६,
ललितपुर।

‘रातदिन खट्नेलाई मत’
गाउँमा राम्रो सेवाका लागि रातदिन तल्लीन रहने व्यक्तिलाई नै मेरो मत जाने छ। गाउँमा रहेको अथाह प्राकृतिक स्रोत र जडिबुटीलाई सदुपयोग गरी समृद्ध गाउँ पालिका बनाउने लक्ष्य बोकेलाई मेरो साथ र समर्थन रहनेछ।

उत्तम लामा
बाग्मती गाउँपालिका, ललितपुर

“विचार गरेर भोट हाल्छु”

भोट त दिने हो। जुन जोगी आए पनि कानै चिरेका हुन्। त्यसैले भोट हाल्ने बेला मात्रै विचार गरेर हाल्नुपर्ला।

गोमा थापा
ललितपुर महानगरपालिका–१३

गाउँ, टोल र बस्तीलाई नयाँ भिजनसहित समृद्ध पार्ने शान्त, सुरक्षित वातावरण तयार पार्ने क्षमता भएका उम्मेदवार मेरो छनोटमा पर्नेछन्। धर्म, जातभात नभनी विकास गर्नेतर्फ लाग्नेलाई भोट हाल्ने विचार छ।

 

 

तीर्थ लामा
ललितपुर

‘पार्टी होइन राम्रोलाई भोट’
हाम्रोमा दोस्रो चरणमा चुनाव हुने हो। त्यो बेला गाउँ–टोलमा जनताको समस्यालाई बुझ्ने र त्यो समस्यालाई समाधान गर्न सक्ने क्षमता भएकालाई भोट दिने हो। अहिले पार्टीभन्दा पनि राम्रो उम्मेदवारलाई भोट दिने हो।

सालिकराम पोखरेल
सीतागंगा नगरपालिका–१०,
अर्गाखाँची (हाल काठमाडौं )