वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई विश्व बैंकको अवार्ड

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
लघु जलविद्युत् आयोजनामार्फत् ग्रामीण जीवनमा सुधार ल्याएको भन्दै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई विश्व बैंकले ‘इन ओबसन अवार्ड’ द्वारा पुरस्कृत गरेको छ। जनसंख्या तथा वातावरण मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा विश्व बैंकका नेपालस्थित निर्देशक टाकुया कामाताले विश्व वैंकको तर्फबाट सो अवार्ड वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताललाई प्रदान गर्नुभयो।

लघु जलविद्युत स्वच्छ विकास संयन्त्र आयोजनाको ‘नवीन परिणाममा आधारित लगानी’ तर्फ उक्त पुरस्कार पाएको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ढाँचा महासन्धिअन्तर्गत दर्ता भएको ‘ग्लोबल पार्टनरसिप अन आउटपुट बेस्ड एड’ (परिणाममा आधारित लगानीका लागि विश्व सहकार्य) बाट पुरस्कार पाउन योग्य ठहरिएको हो।
पुरस्कृत यो स्वच्छ विकास संयन्त्र आयोजनामा नेपालको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत् नेपाल सरकारको नवीकरणीय अनुदान नीति अन्तर्गत निर्मित करिब १५ मेगावाट क्षमताका कुल ४ सय ५० वटा लघु जलविद्युत्लाई संयोजन गरिरहेको छ। केन्द्रले हरेक आयोजना निर्माणको चरणमा औसत ४६ जना तथा आयोजनाको निर्माण सम्पन्न भएपछि तथा आयोजना संचालन गर्न औसत ३ जनालाई रोजगारी प्रदान गरेकोछ।

विश्व बैंकअन्तर्गतको यो आयोजना सन् २००३ मा विभिन्न दातृ निकायको सहयोगमा स्थापना भएको थियो। उक्त आयोजनाले हरेक वर्ष यो पुरस्कार विभिन्न लघु जलविद्युत् क्षेत्रमा काम गर्ने राष्ट्रलाई दिने गरेको छ। केन्द्रका अनुसार स्वच्छ विकास संयन्त्र आयोजना सन् २०१० मा राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी ढाँचा महासन्धिमा दर्ता भएको थियो।

जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशी, मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीको सहभागितामा पुरस्कार प्रँप्तपछि ग्रामीण क्षेत्रको विकासमा थप नयाँ काम गर्ने हौसला बढाएको केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताउनुभयो।