मतदान केन्द्रमा खटिए सुरक्षाकर्मी ,२४सै घण्टा सुरक्षाकर्मी अलर्ट रहन निर्देशन


सुनील महर्जन, काठमाडौं
पर्सि आइतबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान केन्द्रको सुरक्षासँगै व्यवस्थापन गर्ने कार्य शुरू गरिएको छ।

आयोगले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर ३ दिन अगावैदेखि मतदान केन्द्रको व्यवस्थापन कार्य शुरू गरिएको हो। ललितपुर महानगरपालिकाको साविकको २२ र हाल ११ को कार्यालय अज्ञात समूहले आगजनी गरेसँगै मतदानस्थल र मतदान केन्द्रमा म्यादी प्रहरी दिन–रात तैनाथ गरिएको छ।
मतदान केन्द्रको सुरक्षासँगै मतदाताहरू लाइनमा उभिएर मत खसाल्न आवश्यक प्रबन्ध मिलाइएको हो। आयोगले सबै निर्वाचन अधिकृतहरू तोकिएको मतदान केन्द्रमा पुगेर मतदानस्थलको व्यवस्थापनमा जुटिसकेको पनि जनाएको छ। पहिलो चरणअन्तर्गत ३४ जिल्लाको २ सय ८३ स्थानीय तहमा निर्वाचन हुन लागिएको हो।

आयोगले मतदाता परिचयपत्र बाँड्ने कार्यसँगै मतदान केन्द्रको व्यवस्थापन कार्य पनि सँगसँगै अघि बढाएको थियो। सो निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९ सय २५ मतदाता रहेका छन्। निर्वाचन प्रयोजनका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदान हुनेछ।

बिहीबार, शुक्रबार र शनिबार ३ दिन सम्बन्धित मतदान केन्द्रले मतदाता परिचयपत्र वितरण गर्नेछ।

निर्वाचन आयोगले मतदाता परिचय वितरणको समय भने सम्बन्धित मतदान केन्द्रले त्यहाँको परिस्थिति अनुकूल हुने गरी तय गर्ने पनि स्पष्ट पारेको छ। मतदाता परिचयपत्र आवश्यक पर्ने कानुनी व्यवस्थाअनुसार मतदाता परिचयपत्र वितरणको काम शुरू गरिएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले जानकारी दिनुभयो।

आयोगले मतदाता परिचयपत्र वितरणसँगै मतदात शिक्षा कार्यक्रमको पनि व्यवस्था गरेको छ।
सम्बन्धित मतदान केन्द्रमा मतदाता शिक्षाका लागि निर्वाचन शिक्षा कार्यकर्ताको समेत व्यवस्था गरिएको आयोगले जनाएको छ।

निर्वाचनमा बढीभन्दा बढी मतदाताको सहभागिता र बदर मत प्रतिशत घटाउन मतदाता शिक्षालाई तीव्र पारेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो।

प्रवक्ता शर्माले हरेक मतदाताले मतदानमा भाग लिउन् र स्थानीय विकासका लागि योग्य प्रतिनिधि छनोट गरून् भन्ने उद्देश्यले शिक्षालाई प्रभावकारी बनाइएको हो। आयोगले मौन अवधिमा पनि यस्तो प्रचार सामग्रीलाई तीव्र पार्ने जनाएको छ।

मौन अवधि बिहीबार राति १२ बजेबाट शुरूदेखि शुरू भएको छ। मौन अवधि शुरू भएपछि मतदान नसकिएसम्मको अवधिमा चुनाव प्रचारप्रसार गर्न रोक लगाइएको छ।

आयोगको छानविन समिति

काठमाडौं, (नेस)
निर्वाचन आयोगले दोलखा घटनाको छानविन गर्न निर्वाचन आयुक्तको नेतृत्वमा छानविन समिति गठन गरेको छ। आयोगले आयुक्त सुधीर शाहको नेतृत्वमा समिति गठन गरेको हो।

मंगलबार बिहान माओवादी केन्द्रको कार्यकर्ताको आक्रमणमा परी एमालेका एक कार्यकर्ताको मृत्यु भएपछि आयोगले छानविन समिति गठन गरेको हो।

दोलखको गौरी शंकर गाउँपालिकाको जुगु भन्ने स्थानमा भएको उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ८ जना माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ।

आयोगले उक्त घटनालाई गम्भीररूपमा लिँदै आयुक्तको नेतृत्वमा छानविन समिति गठन गरेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिनुभयो। प्रहरीले यसअघि केन्द्रबाट अनुसन्धान टोली गठन गरी कार्यक्षेत्रमा पठाएको छ भने आयोगले गठन गरेको टोलीले पनि घटनास्थल पुगेर अनुसन्धान गर्ने भएको छ।