ट्रम्पद्वारा एफबीआई निर्देशक कोमी बर्खास्त


वासिङ्टन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय अनुसन्धान ब्युरो (एफबीआई) का निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गरेको अमेरिकी राष्ट्रपतीय कार्यालय ह्वाइट हाउसले जनाएको छ।

ट्रम्पका चुनावी प्रतिद्वन्द्वी हिलारी क्लिन्टनको इमेल काण्डको छानविनलाई लिएर उनलाई यो कारबाही भएको बताइएको छ। तर डेमोक्रेटहरूले एफबीआईले ट्रम्पको चुनावी अभियानसँग रुसी सम्बन्धबारे अनुसन्धान गरिरहेकाले उनलाई पदबाट हटाइएको जनाएका छन्।

गत साता कोमीले हिलारी क्लिन्टनको इमेल काण्डबारे कंग्रेसलाई गलत सूचना दिएका कारण ट्रम्पले यो कदम चालेको देखिन्छ। अमेरिकी विदेश मन्त्रालय बन्द रहेको अवस्थामा हिलारीले संवेदनशील सूचना स्टोर गर्न एउटा निजी इमेल सर्भर प्रयोग गरेको बारे एफबीआईले अनुसन्धान गरेको थियो।

गत साता कोमीले गत वर्षको जुलाईमा भएको सो घटनालाई लिएर हिलारीको काम लापरबाहीपूर्ण भए पनि आपराधिक नदेखिएको बताएका थिए। ह्वाइट हाउसले तत्कालै कोमीको उत्तराधिकारी खोज्ने काम शुरू हुने बताएका छन्। ट्रम्पले कोमीलाई पठाइएको पत्रमा लेखिएको छ– ‘तपाईं आफ्नो ब्युरोको नेतृत्व सम्हाल्न सक्षम हुनुहुन्न भनी अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले गरेको अनुमोदनप्रति मैले सहमति जनाएको छु।’

सेसन्सले न्याय विभाग उच्चस्तरीय अनुशासन, एकता र नियम कानुनप्रति प्रतिबद्ध रहेको र ताजा शुरूआत आवश्यक रहेको बताएका छन्। कुनै समय ट्रम्पले एफबीआईएका निर्देशकको प्रशंसा गर्ने गरेकामा अहिले कोमीलाई बर्खास्त गरेकोमा धेरै अमेरिकीले आश्चर्य व्यक्त गरेका छन्।

टेलिभिजनको समाचारमार्फत आफूलाई पदबाट हटाइएको जानकारी पाउँदा कोमीले लस एन्जेल्समा एफबीआई एजेन्टहरूलाई सम्बोधन गरिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

एफबीआई निर्देशक पदको दश वर्षीय कार्यकालको साढे तीन वर्ष मात्र पूरा गरेका ५६ वर्षीय कोमीले शुरूमा आफूलाई हटाइएको खबरलाई प्रइन्क गरिएको ठानेर हाँसेर टारेका थिए। लामो समयदेखि ट्रम्पका कट्टर आलोचक रहँदै आएका नेव्रास्काका सिनेटर बेन सास्सेले उनलाई पदबाट बर्खास्त गर्ने यो उपयुक्त समय नभएको प्रतिक्रिया दिएका छन्।