चुनावी हिंसामा १ को मृत्यु


चिरञ्जीवी मास्के, दोलखा
चुनावी अभियानको क्रममा माओवादी आक्रमणमा परी दोलखाको गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा एमालेका एक जना कार्यकर्ताको मृत्यु भएको छ।

जुँगुको एक होटलमा बसिरहेको अवस्थामा माओवादी केन्द्रका नेता पूर्वराज्यमन्त्री देवी खड्काको नेतृत्वमा पुगेको समूहले आक्रमण गर्दा गौरीशङ्कर–१ जुँगुका एमालेका तर्फबाट वडा सदस्यको उम्मेदवार गोरे तमाङको छोरा ३३ वर्षीय कुलबहादुर तमाङको मृत्यु भएको एमाले दोलखाले जनाएको छ।

माओवादी केन्द्रको आक्रमणमा परी स्थानीय दिलबहादुर बुढाथोकी घाइते भएको र उनलाई उपचारका लागि काठमाडौं लगिएको एमालेले जनाएको छ। खड्का नेतृत्वको टोलीले होटल भएको घरमा घेरा हाली घरको छाना उप्काएर भित्र पसी फायरिङ गर्दै आक्रमण गरेको र भाग्ने क्रममा ढुङ्गा, खुकुरी प्रहार गरी हत्या गरेको एमाले केन्द्रीय सदस्य पार्वत गुरुङले बताए।

मंगलबार राति करिब ८ः३० बजे दुई जनालाई लखेट्दै नीलकण्ठेश्वर स्कूलको प्राङ्गणमा पुर्याएर आक्रमण गरेको र सोही क्रममा तमाङको मृत्यु भएको गुरुङले बताए। मंगलबार दिउँसो चुनावी अभियानका क्रममा माओवादी केन्द्रका नेताकार्यकर्ताहरूसंग सामान्य विवाद भएको र सोही निहुँमा राति आक्रमण भएको एमाले नेता गुरुङको भनाइ छ।

माओवादी नेता खड्काले भने आफूलाई एमाले कार्यकर्ताहरूले आक्रमण गरेको र सोही क्रममा झडप हुँदा उक्त घट्ना भएको बताइन्। माओवादी पोलिटब्युरो सदस्य गंगा कार्कीले भने आफू घट्ना स्थलमा नभएकाले सोबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्।

दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले घट्नाको जानकारी भएपछि मंगलबार रातिनै प्रहरी परिचालन गरिएको र घाइते दुईजनालाई सदरमुकाम चरिकोट ल्याइएको बताउनुभयो। घाइतेमध्ये कुलबहादुर तमाङको भने उपचारको क्रममा मृत्यु भएको प्रजिअ बोहोराले बताउनुभयो।

प्रहरीले घट्नामा संलग्न रहेको आशंकामा आठ जनालाई नियन्त्रणमा लिई सदरमुकाम चरिकोट ल्याएको प्रजिअ बोहोराले जानकारी दिनुभयो। अहिले घट्नास्थलको अवस्था सामान्य रहेको र थप सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ बोहराले जानकारी दिनुभयो।