बिथोल्न खोज्ने यी कहाँ छन् ? पक्रिन प्रहरीमा आन्तरिक सर्कुलर



दीपक रिजाल, काठमाडौं
यही वैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनलाई बहिष्कार गर्ने नारा लिएर गाउँगाउँमा पसेको विप्लव माओवादीले राजधानीलाई समेत निसाना बनाएर आफ्ना कार्यकर्तालाई राजधानी प्रवेश गराएपछि सुरक्षा निकायलाई टाउको दुखाइ भएको छ।


नेकपा माओवादी विप्लव समूहले हतियारसहित तालिम प्राप्त केही कार्यकर्तालाई राजधानीमा पठाएपछि सुरक्षा निकायले ती कार्यकर्ताको खोजी तीव्र बनाएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले माओवादीका उच्च सैन्य दस्ताका चार कार्यकर्ताको खोजीका लगि फोटोसहित मातहतका कार्यालयहरूलाई खोजी गर्न निर्देशन दिएको छ।

विप्लव माओवादीले अहिलेको निर्वाचनलाई धोखाको संज्ञा दिदैं निर्वाचन बिथोल्न आफ्ना कार्यकर्तालाई निर्देशन दिएपछि सरकारले विप्लव माओवादीको गतिविधिमा रोक लगाउन र उनीहरू बस्ने तथा उनीहरूले गर्ने हर्कतहरूलाई समेत नियन्त्रण गर्न निर्देशन दिएपछि सुरक्षा निकायले खोजी कार्यलाई तीव्र बनाएको छ।

सुरक्षा निकायले हतियारसहित राजधानी छिरेको दाबी गर्दै विप्लव माओवादीका कार्यकर्ता अर्जुन राउत, रवि गोले, विवेक क्षत्री र सुवास अधिकारीको तस्वीरसहित आफ्ना मातहतका युनिटलाई उनीहरूको खोजी गर्न र जुनसुकै हालतमा पनि पक्राउ गर्न निर्देशनसहितको पत्र पठाएको छ।


राजधानीमा अहिले सुरक्षा थ्रेट भनेको विप्लव माओवादीका कार्यकर्ताबाट भएकाले उनीहरूको खोजीलाई तीव्र बनाएको प्रहरीले जानकारी दिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक छविलाल जोशीले विप्लव माओवादीका कार्यकर्तालाई खोजी रहेको जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘उनीहरूको हर्कतलाई हामीले नजिकबाट नियालीरहेका छौं त्यस्तो कुनै गतिविधि हुन दिनेछैनौं।

तर दुवै संगठनको मुख्यालयले भने विप्लव माओवादीको गतिविधि अहिलेको अवस्थामा सबैभन्दा खतरनाक देखिएकाले उनीहरूको गतिविधिलाई नियन्त्रण गर्न जस्तोसुकै हथकण्डा अपनाउन परे पनि अपनाउनु भन्दै निर्देशन दिएको एक उच्च सुरक्षा अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए।
अहिले सो पार्टीले निर्वाचन बहिष्कारका नाममा स्थानीय निर्वाचन हुन लागेका ३४ जिल्लामा आफ्नो गतिविधिलाई तीव्र बनाएको छ। सरकारले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै देशभरबाट ४ सयभन्दा बढी विप्लव माओवादीका कार्यकर्तालाई पक्राउ गरी सार्वजनिक अपराधअन्र्तगत मुद्दा चलाएको छ।

प्रतिक्रिया दिनुहोस्