आज मध्यरातबाट मौन अवधि


सुनिल महर्जन, काठमाडौं
यही वैशाख ३१ हुने पहिलो चरणको निर्वाचनका लागि उम्मेदवारहरूले प्रचारप्रसार गर्ने समय आज राति १२ बजेबाट सकिँदै छ। उम्मेदवारहरूले आज मात्रै आफ्नो चुनावी प्रचार प्रसार गर्न पाउनेछन्। त्यसैले सबै उम्मेदवारहरू चुनाव प्रचार प्रसारको अन्तिम चरणमा रहेका छन्।

आज राति १२ बजेपछि मौन अवधि शुरू हुने आयोगले जनाएको छ। मतदान हुने ४८ घण्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म निर्वाचित हुने पदका लागि कुनै उम्मेदवारको पक्ष र विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै किसिमको प्रचार प्रसार गर्न नदिने प्रावधान रहेको छ।

यसअन्तर्गत सभा बोलाउन र आयोजना गर्न, कसैको पक्ष र विपक्षमा जुलुस निकाल्न र नाराबाजी गर्न र गराउन पाइँदैन। निर्वाचन अधिकृतको कार्यालयले सो सूचना आज प्रकाशित गर्नेछ।
सोहीअनुरूप राजनीतिक दल र उम्मेदवारले घरदैलो कार्यक्रमसँगै विभिन्न स्थानमा चुनावीसभा गरेर प्रचार प्रसार कार्यक्रम टुंग्याउने योजना बनाइरहेका छन्।

आयोगको आचारसंहिता २०७२ मा मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरपरि राखिएका आआफ्नो निर्वाचन चिह्न तथा प्रचारप्रसार सामग्री निकाल्नुपर्ने, एसएमएस, सामाजिक सञ्जाल, फेसबुक र भाइवरबाट समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न पाउने छैनन्। त्यसै गरी उम्मेदवार र राजनीतिक दलको निर्वाचन चिह्न, पहिरन, टोपी, स्टीकर टइटु, झोलाजस्ता सांकेतिक सामग्रीको प्रयोग तथा बिक्री गर्न र प्रदर्शन गर्न वा गराउन नहुने आयोगले जनाएको छ।
त्यसै गरी उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि नपाउने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ। मौन अवधिमा दलहरूले संयमता लिने र निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न र गराउन पनि प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आग्रह गर्नुभयो।

आयोगले वैशाख २२ गते निर्वाचन चिह्न दिएकाले स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रसार गर्न छ दिनको समय मात्रै पाएका थिए। प्रमुख दलहरूले भने अलि अघिबाट प्रचार थालेका हुन्।

यसको पूर्वसन्ध्यामा निर्वाचन आयोगले प्रमुख राजनीतिक दलहरूका शीर्ष नेताहरूलाई बोलाएर बुधबार छलफल गरेको छ।

छलफलका क्रममा प्रमुख राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता अक्षरश पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा भएका राजनीतिक दलका कार्यकताहरूबीच भएको कुटपिट, आगजनी र दोलखामा एकजनाको ज्यानै जाने गरी भएको घटनाका सन्र्दभमा राजनीतिक दलहरूले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

आयोगले बुधबार प्रमुख दलका शीर्षनेताहरूलाई बोलाएर निर्वाचन आयोगले जारी गरेको आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचनको आचारसंहिता अक्षरस पालना गर्र्ने प्र्रतिबद्धता जनाउन लगाएको हो।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचन गराउने अन्तिम तयारी भइरहँदा विभिन्न स्थानमा भएका अप्रिय घटना दोहोरिन नदिन थप सजगता अपनाउन आग्रह गर्नुभयो। उहाँले लोकतन्त्रको आधार नै स्वच्छ, धाँधलिरहित निर्वाचन भएको स्मरण गर्दै यसका लागि आचारसंहिता पालनामा प्रतिबद्धता व्यक्त गर्दै संयमता अपनाउनुपर्नेमा पनि जोड दिनुभयो। आयोगले मतदान र मत गणनाको समयमा पनि आफ्ना कार्यकर्तालाई संयमित बनाउन आग्रह गरेको छ।

छलफलमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले दोलखा घटनाबारे आयोग र दलहरूको ध्यानाकर्षण गराउँदै स्थानीय सुरक्षा निकायले आफ्नो जिम्मेवारी पूरा नगरेको आरोप लगाउनुभयो। उहाँले आचारसंहिता पालना गर्ने प्रतिबद्धता देखावटी नभइ व्यवहारमा झल्किनुपर्ने पनि धारणा राख्नुभयो। सो अवसरमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले सरकारमा बसेकै पार्टी माओवादीले आतंक मच्चाउने काम गरेको आरोप लगाउनुभयो। उहाँले सरकारले चुनावलाई प्रभावित पार्ने गरी निर्णयहरू गरेको भन्दै ध्यानाकर्षण गराउनुभयो।

सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदार, मन्त्रीहरू रमेश लेखक, एमालेका अग्नि खरेल, संघीय समाजवादी फोरमका सहध्यक्ष राजेन्द्र श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

यसै बीच निर्वाचन आयोगले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता परिचयपत्र आज बिहीबार दिने भएको छ। आयोगले स्थानीय तहको पुनर्संरचनासंगै मतदान केन्द्र हेरफेर भएकाले यसअघिको मतदाता परिचय पत्र प्रयोग नहुने भन्दै नयाँ मतदाता परिचयपत्र वितरण गर्न लागेको हो। यसपटक वितरण गर्न लागिएको परिचयपत्र पानीले नभिज्ने र सुरक्षा कोडसमेत राखिएको छ।

आयोगले आफूले भोट हाल्ने वडाको मतदान स्थलमा गएर मतदाता परिचय पत्र लिनसमेत आम मतदातालाई आग्रह गरेको छ। आयोगले ३० गते शनिबारसम्म नयाँ परिचयपत्र दिने व्यवस्था मिलाएको छ। आयोगले वितरण गर्ने नयाँ कार्डका आधारमा मात्र भोट हाल्न पाउने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।