बगरमा जीवन खोज्दै मजदुर


नानीराम नेपाल, सिन्धुपाल्चोक

चैतको टन्टलापुर घाम, सुनकोसीको उजाड बगर। कालिकास्थित सुनकोसीको बगरमा सयौं मानिसहरू छन्। कोही बालुवा झिकिरहेका छन्, कोही बालुवा चालिरहेका छन्। कोही टिपरमा लोड गरिरहेका छन्। टन्टलापुर घामको कुनै पर्वाह नगरी बगरको राप सहँदै मजदुरी गरिरहेका छन् मानिस। त्यही भीडमा कालिका पुरानाकोटका अमृत भुजेल पसिना चुहाउँदै बगरमा पाखुरा बजारीरहेका छन्।

बिहान सबेरै बगर झरेर बेलुका अवेर घर फर्कनु उनको दैनिकी बनिरहेको छ। सोमबार बगरमा पुग्दा उनी बालुवाको थुप्रो लगाउँदै थिए। उनको परिश्रम हेर्दा अविरल बगिरहेको सुनकोसीमा उनकै पसिना पनि बगिरहेझैं लाग्थ्यो। दैनिक दुई मिटरभन्दा बढि बालुवा निकाल्दै आएका उनी दैनिक १५ सयभन्दा बढी कमाइ हुने सुनाउँछन्। सडक र बगरधनीलाई गरी प्रतिटिप २ हजार खर्चनुपर्ने र ९ हजारसम्म बँच्ने गरेको उनी सुनाउँछन्। ‘३ दिनमा एक टिप बालुवा जम्मा हुन्छ, खर्च कटाएर ९ हजार त बच्छ’ –उनी भन्दै थिए।

भनिन्छ, बालुवामा पानी अडिँदैन। तर, पानी नअडिने त्यही बालुवामा जिन्दगानी अडिने रहेछ। साविक कालिका गाउँ विकास समिति–३ का गोपी माझीका लागि यही बगर नै जीवन धान्ने आधार बनिरहेको छ। बिहान सबेरै बगरमा झर्छन् अनि बेलुका अबेरसम्म बगरमै हुन्छन् उनी। पछिल्लो एक महिनायता बालुवाकै कमाइले उनले पारिवार पालिरहेका छन्। बालुवामा पानी हालिए त्यो खेर जान्छ तर त्यही बालुवामा पसिना पोखे खेर जाँदैन भन्ने कुराको दरिलो उदाहरण बनेका छन् गोपीजस्तै सयौं मानिस।

खोला किनारमा बालुवाको थुप्रो लगाउँदै उनी भूकम्पमा भत्किएको घर ठड्याउने सपना बुनिरहेका छन्। ‘दुई छाक खानुपर्यो, घर बनाउनु त छँदै छ’ –सोमबार सुनकोसी किनारमा बालुवा चाल्दै गरेका उनले सुस्केरा हाल्दै भने। बगरको बालुवा उत्खनन र बिक्री गरी एक महिनामा २० हजारसम्म कमाइ हुने उनी सुनाउँछन्। ‘दुःख छ, कमाइ पनि छ’, उनी भन्छन्– ‘महिनाको २० हजारसम्म कमाइन्छ।’ उनको आफ्नै बगर छैन। तर, बगरको मजदुरीबाट उनी पछिल्ला केही दिनयता राम्रो कमाइ गरिरहेका छन्। स्थानीय अर्जुन माझीसँग बगर किनेरै उनले बालुवाको काम शुरु गरेका थिए। अर्जुनसँग ४० हजार तिरेर बगर किनेका थिए उनले।

साविकको कदमवास गाविसको दारीका रामबहादुर पहरी हुन् या डेढ वर्षे छोरालाई बगरमै सुताएर बालुवा भिकिरहेकी साँगाचोककी रीता माझी नै। आफ्नै बगर नभएपछि उनीहरू पसिनाको कमिसन बुझाउँदै बालुवा झिकिरहेका छन्। दैनिक १५ सय हाराहारीमा आम्दानी गरिरहेका उनीहरूले बालुवा पठाउँदा प्रतिटिप १ हजारसम्म बगरधनीलाई बुझाउनुपर्छ। असारे भेलको मौका छापेर स्थानीय ठूलाठालु भनिनेहरूले वर्षेनि बगरमा सीमा लगाउँछन्। अनि मजदुरी गर्नेहरूले पैसा तिरेर त्यही किन्नुपर्छ कि त दैनिकरूपमा बगरधनीलाई कमिसन बुझाउनुपर्छ।

नदी आसपासका स्थानीयहरू मात्र हैनन्, सुनकोसीको बगरले अन्य जिल्लाका मानिसहरूलाई पनि तानेको छ। सुदूरपश्चिमका मानिसहरू सुनकोसी किनारमा बालुवाको मजदुरी गरिरहेका छन्। बिहारदेखि मजदुरी गर्न भारतीयहरू आएका छन्। भनेजस्तो रोजगारी छैन, जीवन धान्ने उपाय भएन। सुदूर सुर्खेतका दीपक थापाका लागि सुनकोसीको बगर नै कमाइ खाने थलो बनेको छ। एक महिनाअघि सुर्खेतदेखि सुनकोसीको बगरमा आइपुगेका उनी बिहान सबेरैदेखि बालुवा निकाल्न थाल्छन्, बेलुका अबेरसम्म बालुवामै व्यस्त हुन्छन्। दिनमा साढे दुई मिटरसम्म बालुवा निकाल्छन् उनी। ‘अब माल नै सकिन लाग्यो, नत्र त दिनमा २ हजारसम्म कमाइ हुन्थ्यो’ –बगरमा बालुवा निख्रिँदै गएकोप्रति चिन्तित हुँदै उनी भन्छन्।

पछिल्लो एक महिनामा बालुवाबाट २० हजार कमाइ गरी घर पठाएको उनी सुनाउँछन्। स्थानीयहरू बास बस्न घर जान्छन्, तर उनी बगरमै रात कटाउँछन्। मजदुरहरूका लागि बगरमै केही टहरा बनाइएका छन्। त्यही टहरामा उनी बास बस्ने गरेका छन्। ‘दुःख नगरी खान नपाइने रे छ हजुर’, उनी भन्छन्– ‘दिनभर काम गर्छु, राति पनि यही बगरमै बस्छु।’

स्वदेशमा भनेजस्तो रोजगारी नभएपछि युवाशक्ति विदेशिने क्रम बढिरहेका बेला कालिकाका सानुबाबु माझी भने आफ्नै माटोमा राम्रो आम्दानी गरिरहेका छन्। सुनकोसीको उजाड बगर नै यतिबेला उनका लागि आम्दानीको दरीलो आधार बनिरहेको छ। दुःख र परिश्रम गरे आफ्नै ठाउँमा राम्रो आम्दानी गर्न सकिने उनी सुनाउँछन्। ‘उजाड देखिने यही बगरमै पैसा रहेछ, पैसा कमाउन किन विदेश जानु ?’ –उनी भन्छन्। बालुवाको काम गरी आफूले मासिक ३५ हजारसम्म कमाएको उनी सुनाउँछन्। तर, बगरको बालुवामा पनि बिचौलियाहरू हुँदा मजदुर मारमा परेको उनी बताउँछन्।
‘बगर कसैको निजी हुँदैन, सबैले मजदुरी गर्न पाउनुपर्छ’, उनी भन्छन्– ‘पसिना बगाउन पनि बगर किन्नुपर्छ, पसिनामै कमिसन खोज्छन्।’