दिक्तेल–जयराम सडक गुणस्तरीय बनाउन ठेकेदारलाई निर्देशन


रामधन राई, खोटाङ ।
ढिलाईका साथै अत्यन्त गुणस्तरहीन काम भएको व्यापक जनगुनासो पछि मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–हलेसी र हलेसी–जयराम सडक कालोपत्रेको कामलाई छिटो र गुणस्तरीय बनाउन ठेकेदारलाई निर्देशन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको अगुवाईमा गरिएको सर्वदलीय अनुगमनका क्रममा प्रशासनले सम्बद्ध ठेकेदारलाई गुणस्तरयुक्त काम गर्न निर्देशन गरेको हो ।
अनुगमनका क्रममा निर्माण सम्बद्ध ठेकेदारलाई सडक कालोपत्रेका काम चाँडो र गुणस्तरिय गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलले बताउनुभयो ।

मध्यपहाडी लोकमार्ग अन्तरगत हलेसी–बिजुले १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा लुम्बीनि कन्काई सुर्य कन्ट्रक्सन, बिजुले–हुर्लुङ १२ किलोमिटर कालोपत्रेको जिम्मा लामा नागार्जुन तथा हुर्लुङ–दिक्तेल ११दशमलव ४ किलोमिटर सडक कालोपत्रेका काम लामा नागार्जुन त्रिसुलीले गरिरहेको छ ।

यस्तै, जयराम–हलेसी १८ किलोमिटरको काम रौता कन्ट्रक्सन र सुर्य कन्ट्रक्सनको जिम्मामा छ । रौता कन्ट्रक्सन र सुर्य कन्ट्रक्सनले जिम्मा लिएको जयराम–हलेसी १८ किलोमिटरको कालोपत्रेका काम पनि सुस्त भएको गुनासो छ । कालोपत्रेको काम सम्पन्न गर्ने सम्झौता मिति सकिए पनि निर्माण कार्यमा अति सुस्त भएको हो ।

म्याद नाघेको चार वर्षसम्म पनि बन्न नसकेको जयरामघाटको दुधकोसी पुललाई चाँडो पूरा गर्न ठेकेदारलाई निर्देशन दिएको जनाईएको छ ।