चार नेपाली लुटिए


नेपाल समाचारपत्र, बाँके । भारतमा कमाई गरेर फर्किएका चार नेपाली लुटिएका छन् ।
गढवालमा काम गरेर घर फर्किरहेका जाजरकोट सुवानाउलीका चार जना सीमावर्ती बजार रुपैडिहामा लुटिएका छन् । बसमा सँगै आएका व्यक्तिले नसालु पदार्थ मिसाएको बिस्कुट खुवाएर चार जना नेपालीको पैसा लुटेका हुन् ।
भारतको नैनीतालबाट आएको र सल्यान घर बताउने युवाले जाजरकोटका चार जनाबाट एक लाख सात हजारबढी भारतीय रुपैया लुटेका छन् । पारस थापा र शेरबहादुर थापा (दाजुभाई) को एउटै झोलामा राखेको ७५ हजार भारु लुटिएको छ । बिरे खड्काको बीस हजारमध्ये बाह्र हजार एक सय ६० भारुमात्रै बचेको छ । प्रेम थापाको २८ हजारमा एक हजार नौ सय ९० रुपैया भारुमात्रै बचेको छ । बीरे र प्रेमले छुट्टाछुट्टै गोजीमा पैसा राखेकाले केही बचेको थियो । ‘भित्री गोजीको पैसा लगे, बाहिरको बचेको छ, खड्काले भन्नुभयो ।
गढवालबाट बस परिवर्तन गर्दै आएका चार जाजरकोटीलाई बरेली–रुपैडिहाको बसमा अपरिचितले बिस्कुट खुवाएका थिए । बिहान रुपैडिहा बसपार्कमा आइपुग्दा सबै बेहोस् भइसकेका थिए । अर्धचेत अवस्थामा रहेका पारसले आफ्नो झोला लगेको देखेपछि लखेट्ने प्रयास गरेपनि असफल भएका थिए ।
रुपैडिहा बसपार्कमा नेपालीहरु बेहोस अवस्थामा रहेको सूचना आएपछि नाकामा रहेको इलाका प्रहरी कार्यालय, जमुनाहाको टोलीले उद्धार गरेर भेरी अञ्चल अस्पताल, नेपालगञ्ज पु¥याएको थियो । बिहान अस्पताल ल्याइएका उनीहरुको चार बजेपछि होस आएको छ । बिरे, प्रेम र शेरबहादुर बढी लठ्ठिएका थिए । उनीहरुको ढिलो होस आएको छ ।
गढवालमा बिरे र प्रेमले मिस्त्री तथा थापा दाजुभाईले होटलमा काम गर्थे । चाडबाड मनाएर कात्तिकमा भाई शेरबहादुर गढवाल गएपछि दाजु पारस मंसीरमा भाई भएको ठाउँमा गएका थिए । चाडबाड मनाएर गएका उनीहरु यतिबेला घर फर्किएका थिए । बिरे र प्रेम भने दुई महिनाअघि मात्रै गढवाल गएका थिए ।
बिरेले २० हजार, प्रेमले २८ हजार, थापा दाजुभाईले ७५ हजार भारतीय रुपैया बोकेर घरमा आइरहदा दश रुपैयाको बिस्कुटमा लोभ गर्दा कमाई लुटिएको छ । नेपालीजस्तो देखिने र सल्यान घर बताउने युवाको विश्वासमा पर्दा यी जाजरकोटीले कमाई गुमाएका छन् । बिस्कुट खुवाउनेले रक्सी खाएकोजस्तो हाउभाउ देखाइरहेको उनीहरुले बताए ।
दश रुपैयाको बिस्कुटको लोभ गर्दा लुटिएकाहरुको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । नजिक रहेका उनीहरुको आफन्तहरु अस्पतालमा आएका छन् । भारतमा कमाई गरेर आउने नेपालीहरु यात्राका क्रममा लुटिने घटना भने नौलो होइन । चाडबाडका बेलामा दैनिकजसो लुटिने नेपालीहरु बाह्रैमास लुटिएको तथ्यांक आउने गर्दछ । बसमा लुटिनबाट बचेका नेपालीलाई नाकामा अटोरिक्सा, टाँगावालाले लुट्ने गरेको पाइन्छ । पछिल्लो दिनमा दैनिकजसो लुटिएका घटना आउन थालेपछि नाकामा रहेको जमुनाहा प्रहरीले रिक्सा र टाँगामा आउने नेपालीलाई कति पैसा तिरेका छौं भनेर सोध्ने गरेको छ ।
भारतका विभिन्न शहरमा मजदुरी गरेर पैसा कमाउने नेपालीलाई कमाई घरमा पु¥याउन फलामको चिउरा चपाउनु सरह हुने गरेको छ । सरकारले बैकिङ सुविधाको व्यवस्था नगर्दा नेपालीले दुःख पाइरहेका छन् । अपरिचित व्यक्तिले दिएको खानेकुरा खादा लुटिएको समाचारहरु बारम्बार आइरहदा पनि नेपालीहरु विश्वासमा पर्ने गरेर दुःख पाएका छन् ।

हजारौं रुपैयामा गोजीमा राखेर अपरिचितले दिएको दश रुपैयाको बिस्कुट, ३० रुपैयाको कोक, २० रुपैयाको पानी पिउदा सर्वस्व गुमाएका छन् । यात्राका क्रममा नेपालीहरुसँग घुलमिल भएर पैसा लुट्नेमा नेपाली र भारतीय गिरोह सक्रिय रहेको पाइन्छ । नेपालकै कुनै पहाडी जिल्ला घर बताउने र अन्य साथीहरुसँग मिलेर सोझा नेपाली लुट्ने समूहलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन ।

भारतीय प्रहरीको सहयोग लिएर बाँके प्रहरीले यस्ता लुटेरालाई समात्ने धेरै प्रयास गरेपनि असफल हुँदै आएको छ । नेपाली नाकामा बसेर लुट्ने केहीलाई भने बाँके प्रहरले पक्राउ गरेर कारबाही गरेको थियो ।