रहेनन् शाक्य जसले राजा महेन्द्रलाई कालो झण्डा देखाउने आँट गरेका थिए।


काठमाडौं, (नेस)
नेपालमा प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेका ऐतिहासिक पात्रका रुपमा लिइने नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मार्शलजुलुम शाक्यको शनिबार निधन भएको छ। विगत केही समयदेखि मुटु रोगबाट पीडित शाक्यको उपचारकै क्रममा हिजो बिहान ग्राण्डी अस्पतालमा निधन भएको हो।

७७ वर्षीय शाक्यलाई पछिल्लो समय निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो।

नेपाली कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईसँग अत्यन्त नजिकमा रहेर राजनीतिमा सक्रिय हुनुभएका शाक्यले विभिन्न राजनीतिक परिवर्तनहरूको आन्दोलनमा सक्रियता र जिम्मेवारी पूर्ण सहभागिता जनाउनुभएको थियो। नेपाली कांग्रेसले उहाँको निधनले अपुरणीय क्षति पुगेको जनाएको छ। २०१७ सालमा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई अपदस्थ गरेपछि त्यसको विरोध गर्दै कालो झण्डा देखाएर साहसका साथ सडकमा उत्रने मध्येमा शाक्य अग्रपंतिमा रहनुभएको थियो। स्व. शाक्यलाई तत्कालीन पञ्चायती व्यवस्थाले गिरफ्तार गरेको थियो। पहिलो पटक यसरी गिरफ्तारीमा पर्नुभएका स्व. शाक्यलाई तत्कालीन व्यवस्थाले ७ वर्षसम्म जेलमा राखेको थियो।

२०४३ देखि २०४५ सालसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति, काठमाडौंको कार्यवाहक सभापति रहनुभएका शाक्य त्यसपछि केही समयसम्म उहाँ जिल्ला सभापतिसमेत रहनुभएको थियो। शाक्य नेपाल विद्यार्थी संघको संस्थापक सदस्य पनि हुनुहुन्थ्यो। २०४६ सालको जनआन्दोलनका क्रममा स्व. शाक्य केन्द्रीय एक्सन कमिटीको सदस्य हुनुहुन्थ्यो। स्व. शाक्य वि.सं. २०४७ सालमा नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित अन्तरिम सरकारमा यातायात तथा आपूर्ति मन्त्री रहनुभएको थियो। नेपालको संविधान २०४७ जारी गर्नमा समेत उहाँले अहम् भूमिका निर्वाह गर्नुभएको थियो।
नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका क्रममा सञ्चालित हरेक आन्दोलन र संघर्षमा संलग्न रहँदा उहाँले १४ वर्षभन्दा बढी समय जेलजीवन व्यतित गर्नुभएको थियो। स्वर्गीय शाक्यले काठमाडौँ र देशका विभिन्न भागमा गरी करिब २ वर्ष भूमिगत जीवनसमेत व्यतित गर्नुभएको थियो।

शाक्यको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लामो त्याग र वलिदानबाट प्राप्त नेपालको संविधान कार्यान्वयनको चरणमा भएको बेला भएको उहाँको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ। शनिबार नै एक शोक विज्ञप्ति जारी गर्दै सभापति देउवाले भन्नुभएको छ– ‘स्व. शाक्यले पार्टीको संगठन विस्तार, नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनामा जीवनपर्यन्त अनवरत रूपमा नेपाली कांग्रेसमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

पार्टीको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा स्वर्गीय शाक्यले पुर्याउनुभएको योगदानको स्मरण गर्दै कांग्रेसले स्व. शाक्यको पार्थिव शरीरलाई शनिबार अपरान्ह पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेको थियो। शाक्यको शनिबार नै टेकूस्थित पचलीघाटमा अन्त्योष्टि गरिएको थियो।