एनसेललाई टेलिकम एसिया अवार्ड


नेपाल समाचारपत्र
काठमाडौंंं

एनसेलले एसिया प्यासिफिक क्षेत्रकै प्रतिष्ठित अवार्ड ‘टेलिकम एसिया अवार्डस् २०१७ प्राप्त गरेको छ।
राष्ट्रिय प्रसारण लाइन नपुगेका समुदायमा सौर्य लघु ग्रिड सञ्चालकसँग सहकार्य गर्दै स्थानीयबासीलाई सञ्चार तथा ऊर्जा सेवा पुर्याउन एनसेलले गरेको प्रयासलाई एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट नवीन टेलिकम परियोजना ठहर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो।
एनसेलको यो परियोजनाले नवीन टेलिकम प्रोजेक्टअन्तर्गत अन्तिम चरणमा पुगेका गुगलको ‘प्रोजेक्ट लोन’, चाइना युनिकमको इन्टरनेट अफथिङस्मा आधारित स्मार्ट पार्किङ र साउथ कोरियन एसके टेलिकमको भर्चुअल असिस्टेन्ट सर्भिस ‘नुगु’ लाई पछाडि पार्दै यो अवार्ड हात पार्न सफल भएको हो। टेलिकम एसियाका स्वतन्त्र निर्णयक मण्डलले नवीनता, वित्तीय प्रदर्शन, प्रविधि, बजार नेतृत्व र कर्पोरेट सुशासनलगायतका मापदण्डका आधारमा प्रोजेक्टहरूको मूल्याङ्कन गर्दै एनसेलको पहललाई उत्कृष्ट ठहर गरेका थिए ।
बुधबार मलेसियामा आयोजित २०औं टेलिकम एसिया अवार्डको समारोहमा एनसेललाई विजयी घोषणा गर्दै अवार्ड प्रदान गरिएको थियो। एनसेलकीे कर्पोरेट संवाद निर्देशक सञ्जु कोइरालाले उक्त अवार्ड ग्रहण गर्नुभएको थियो।
‘राष्ट्रिय प्रसारणलाइन नपुगेका समुदायमा सहज सेवा सुनिश्चित गर्ने र अफग्रिड समुदायका सञ्चारको मागलाई सम्बोधन गर्ने उद्देश्य लिई सञ्चालन गरिएको यो प्रोजेक्टले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेकोमा हामी हर्षित छौं। यो अवार्ड नवीन सहकार्य गर्दै देशको सामाजिक तथा आर्थिक विकासका लागि एनसेल सधैं कटिबद्ध रहेको छ भन्ने प्रमाण हो,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भन्नुभयो।
यो परियोजनामा एनसेल तथा स्थानीय लघुग्रिड सञ्चालक घाम पावर नेपाल प्रालिले सहकार्य गर्दै बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ तथा उदयपुर जिल्लाका समुदायहरूमा ऊर्जा र मोबाइल सेवा प्रदान गर्दै आएका छन्।
यसले स्थानीय तहमा नयाँअवसर को सिर्जना गरेको छ। यो आयोजनाले गर्दा ३१ गाविसका बासिन्दाहरूमा एनसेलको मोबाइल सेवा पुगेको छ। लघु ग्रिडहरूसँग सौर्य ऊर्जा आपूर्तिको थप क्षमता पनि भएकाले स्थानीय समुदायको विद्युतीकरणमा पनि योगदान पुगेको छ, जसले गर्दा नयाँआर्थिक र सामाजिक लाभका अवसरको सिर्जना भएको छ।