राष्ट्रपतिसमक्ष सडकपीडितको गुनासो


हेटौंडा, (नेस)
पूर्व–पश्चिम राजमार्गको हेटौंडा खण्डमा राजमार्ग दायाँबायाँ२५ मिटर सडक विस्तारका सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाउनु भएको छ। विवाद जारी रहेको र सर्वोच्च अदालतमा मुद्दा विचारधीन रहेको अवस्थामा हेटौंडा बजार क्षेत्रमा सडक विस्तारले घरधनी र व्यवसायी त्रसित छन्।

मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्षसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य राजकुमार न्यौपानेले सडक विस्तारबारे बिहीबार राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो। राष्ट्रपतिको कार्यालयले महासंघको नवनिर्वाचित कार्यसमितिको स्वागतमा सहभागी न्यौपानेले हेटौंडाका करिब २ हजार ५ सय घरधनी र ५ हजार व्यवसायी सडक विस्तारबाट वर्षौंदेखि त्रसित भएको बताउनुभएको थियो।

न्यौपानेले काठमाडौंमा राष्ट्रपति भण्डारीलाई हेटौंडाको सडक विस्तारले हजारौं व्यवसायी र घरधनीलाई पारेको प्रभावका विषयमा ध्यानाकर्षण गराउनुभएको हो। त्यसपछि राष्ट्रपति भण्डारीले यस विषयमा चासो देखाउनुभएको हो।

उहाँले समस्या समाधानका लागि आफूले उचित व्यवस्थापन गर्न सरकारसँग अनुरोध गर्ने बताउनुभएको न्यौपानेले जानकारी दिनुभयो।‘उहाँले स्थानीयलाई प्रत्यक्ष असर पर्ने गरी विकास निर्माण कार्य अघि बढाउन समस्या हुने बताउनुभयो,’ न्यौपानेले राष्ट्रपतिले वैकल्पिकमार्ग वा मुआब्जाका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन दिएको बताउनुभयो।

न्यौपानेले बिनामुआब्जा सडक विस्तार अघि बढाउँदा हेटौंडाका लालपूर्जा भएका र लगातार कर तिरिरहेका जनता मारमा परेको गुनासो राष्ट्रपतिसमक्ष गर्नुभएको थियो। उहाँले भन्नुभयो– ‘उहाँले आफ्नोतर्फबाट समस्या समाधानका लागि प्रयास अघि बढाउने आश्वासन दिनुभएको छ।
घरधनीले मुआब्जा माग गर्दै सर्वोच्चमा मुद्दा दायर गरेपछि हाल सडक विस्तार रोकिएको छ। डिभिजन सडक कार्यालय हेटौंडाले विस्तार प्रक्रिया अघि बढाए पनि अदालतको फैसला नहुँदा अन्योलमा परेको छ।

भौतिक योजना तथा यातायात मन्त्रालयको आयोजनामा २५ मिटर सडक विस्तारका लागि काठमाडौंमा गरिएको छलफलमा मकवानपुरे सांसद्सहित टोलीले भौतिक योजना तथा यातायात मन्त्रीसँग संयुक्त छलफल गरेको थियो।

केही समयअघिको छलफलले २५ मिटर सडक विस्तारका विषयमा अध्ययन÷अनुसन्धान गर्न गठित विशेष कार्यदलले हेटौंडाको समस्याको उचित सम्बोधन गर्न सबै सरोकारवालासँग समन्वय गरी प्रतिवेदन बुझाउने र सोपश्चात्मात्र आवश्यक निर्णय लिने निर्णय गरेको मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ।

हाललाई २५ मिटर सडक विस्तार कार्य स्थगन गरी उक्त प्रतिवेदन आएपश्चात् मात्र अन्य कार्य अघि बढाउने सहमति बनेको थियो। तर, सडकले प्रहरी र डोजर लगाएर भवन भत्काएको थियो।