डा. लम्साललाई चलचित्र पत्रकारिता सम्मान


पौडेल र आवाजलाई पुरस्कार, राउतलाई प्रोत्साहन

चलचित्र पत्रकार संघ नेपालले आप्नो स्थापना दिवसको अवसरमा सदस्य चलचित्र पत्रकारहरुलाई प्रदान गर्दै आएको चलचित्र पत्रकारिता सम्मान र पुरस्कार यस वर्ष पनि प्रदान गर्ने भएको छ।

संघले आप्नो स्थापना दिनको अवसर पारेर प्रत्येक वर्ष जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै चलचित्र पत्रकारको सम्मान र प्रोत्साहनका लागि सम्मानित र पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिँदै यसपटक पनि सम्मान र पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

संघका अध्यक्ष सन्दीप सापकोटाको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमिति बैठले चलचित्र पत्रकारिता दिवसका अवसरमा प्रदान गरिँदै आएको चलचित्र पत्रकारिता सम्मान यस वर्ष रेडियो नेपाल र बीबीसी नेपाली सेवामा कार्यरत सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान गर्ने निर्णय गरेको छ। त्यसै गरी सगरमाथा टेलिभिजनमा फिल्मसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आइरहेका पारस पौडेल र अनलाइन खबर डटकमका विजय आवाजलाई पुरस्कृत गर्ने निर्णय गरेको छ।
१५ हजार रुपियाँ रहेको यो पुरस्कारको राशि बृद्धि गरेर यस वर्षबाट २१ हजार रुपियाँ पुयाइएको छ।
संघले यस वर्षबाट पुरस्कार बृद्धि गरी चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारसमेत प्रदान गर्ने भएको छ। यो पुरस्कार पहिलोपोस्ट डटकमकी स्वेच्छा राउतलाई प्रदान गर्ने निर्णय संघले गरेको छ।
प्रोत्साहन पुरस्कारस्वरूप उनलाई ल्यापटप प्रदान गरिने संघका महासचिव अनिल यादवद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।