किमको हत्या षड्यन्त्र गरिएको दाबी


प्योङ्याङ, (एजेन्सी)
अमेरिकी र दक्षिण कोरियाली एजेन्टहरूले उत्तर कोरियाली नेता किम जोङ उनलाई मार्ने षड्यन्त्र गरिरहेको उत्तर कोरियाली सञ्चारमाध्यमले शुक्रबार जनाएका छन्।

उत्तर कोरियाको राष्ट्रिय सुरक्षा मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा अमेरिकाको केन्द्रीय गुप्तचर निकाय (सीआईए) र दक्षिण कोरियाको गुप्तचर निकायद्वारा समर्थित एउटा आतंककारी समूह जैविक रासायनिक तत्वबाट आक्रमण गर्ने तयारीका लागि उत्तर कोरिया प्रवेश गरेको र उत्तरु कोरियाले तिनीहरूलाई खोजेर निर्मम ढंगले खतम गर्ने जनाइएको छ।

कोरियाली प्रायद्विपमा तनाब बढिरहेका बेला यो प्रसंग सार्वजनिक भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको समस्या समाधान गर्ने र त्यसलाई आणविक हतियार विकास गर्न रोक्ने प्रतिबद्धता जनाएका छन्।

उत्तर कोरियाको कोरियन न्युज एजेन्सी (केसीएनए) का अनुसार सीआईए र दक्षिण कोरियाली गुप्तचर निकाय मिलेर उत्तरकोरियाको सर्वोच्च नेतृत्वलाई खतम पार्ने डरलाग्दो षड्यन्त्र रचेको जनाएको छ। उक्त षड्यन्त्रमा रेडियोधर्मी तत्वलगायत जैवीरासायनिक तत्व र नानो विषाक्त तत्व प्रयोग गर्ने योजना रहेको पनि बताइएको छ। ती तत्वहरू प्रयोग गरिएको छदेखि बाह्र महिनाभित्र परिणाम देखाउन थाल्दछ।

उक्त राष्ट्रिय सुरक्षा मन्त्रालयले दक्षिण कोरियाली गुप्तचर सेवाले रसियामा कार्यरत रहेका बला किम नामक एक उत्तर कोरियालीलाई यस कामका लागि घुस खुवाएको पनि जनाएको छ। किमलाई कुल झन्डै ३ लाख अमेरिकी डलर उपलब्ध गराइएको र उनलाई प्योङ्याङ गएर आक्रमण गर्ने तरिकाबारे विस्तृत सूचना पठाउन निर्देशन दिइएको बताइएको छ।

केही सातायता उत्तर कोरिया र पश्चिम जगत्बीच शाब्दिक युद्ध चल्दै आएको छ। प्योङ्याङले भने छैठौं आणविक परीक्षण गर्ने चेतावनी दिएको छ। गत शनिबार उत्तरले गरेको ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण असफल भएको थियो।

अमेरिकाले कोरियाली प्रायद्विपमा एउटा लडाकू विमानवाहक युद्धपोत पठाइसकेको छ भने दक्षिण कोरियामा विवादास्पदप्रति क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली जडान गरिसकेको छ।