मुसाले हजारौं लिटर रक्सी खाएको प्रहरी बयान


नयाँदिल्ली, (एजेन्सी)

पूर्वीभारतीय राज्य विहारका प्रहरीले अवैधरूपमा बरामद गरिएका हजारौं लिटर रक्सी मुसाले खाएको जनाएको छ। उक्त राज्यले गत वर्ष रक्सी उपभोग र बिक्री वितरणमाथि प्रतिबन्ध लगाएको थियो।

त्यसयता प्रहरीले ८ लाख लिटरभन्दा बढी अवैध रक्सी जफत गरिसकेको छ।

पटना शहरका प्रमुख प्रहरी अधिकारी मनु महाराजले आफूलाई मंगलबार प्रहरी निरीक्षकहरूले बरामद गरिएका अधिकांश रक्सी मुसाले खाएको बताएको जनाएका छन्। प्रहरीले उक्त भनाइमाथि गम्भीर ढंगले छानविन गर्न आदेश दिएको छ।

गत वर्ष कुर्सी सम्हाल्नासाथ बिहारका मुख्यमन्त्री नीतीश कुमारले रक्सीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए।

उक्त कदमका कारण घरेलु हिंसा, गरिबी र उत्पीडन घट्ने अनुमान गरिएको थियो। त्यसको लगत्तै प्रहरीले राज्यभरि नै रक्सी छापामार्ने अभियान चलाएको थियो। प्रहरीले अवैधरूपमा घरमा र पसलमा रक्सी राखेको अभियोगमा ४० हजारभन्दा बढी व्यक्तिलाई गिरफ्तार पनि गरेको थियो।

अभियानलाई पुष्टि गर्ने उद्देश्यले प्रहरी चौकीहरूमा थुप्रै रक्सी राखिएको थियो। केही चौकीले त रक्सी राख्न निजी भण्डारहरू पनि भाडामा लिएका थिए।

अहिले राज्यका १ हजारभन्दा बढी प्रहरी चौकीलाई बरामद गरिएका रक्सीको स्टकबारे नियमित अडिट गर्न आदेश दिइएको छ। महाराजले दि हिन्दु अखबारलाई बताएका छन्– ‘प्रहरी अधिकारीहरूमाथि पनि नियमितरूपमा रक्सी उपभोग गरेको सम्बन्धमा छानबिन गरिनेछ।

यदि तिनीहरू उक्त परीक्षणमा असफल भएको पाइएको खण्डमा तिनीहरूको जागिरै जानेछ।
साथै तिनीहरूमाथि प्रतिबन्ध उल्लंघनसम्बन्धी नयाँ कानुनअनुसार थप कारबाही पनि गरिनेछ।’

नयाँ कानुनअनुसार कसैले रक्सी बेचेको वा उपभोग गरेको पाइएमा उनलाई अधिकतम दश वर्ष लामो कारावास सजाय हुन सक्नेछ। भारतका अन्य राज्यहरूमा पनि निश्चित समयमा निश्चित परिमाणमा सरकारले तोकिएकै स्थानहरूबाट मात्र रक्सी बिक्री वितरण गर्न पाइन्छ।

भारतमा नक्कली रक्सीको ओसारपसार पनि अर्को ठूलो समस्याको रूपमा रहेको छ। वर्षेनि विषाक्त रक्सी सेवनका कारण भारतमा सयौं व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन्।