निर्भया हत्याकाण्डका चार दोषीको मृत्युदण्ड सर्वोच्चद्वारा कायम


नयाँदिल्ली, (एजेन्सी)
भारतको सर्वोच्च अदालतले शुक्रबार निर्भया बलात्कार तथा हत्या काण्डमा दोषी ४ जनाले पाएको मृत्युको सजायँलाई कायम गरेको छ।

यसअघि तल्लो अदालतले मुकेश, पवन, विनय शर्मा र अक्षयकुमार सिंहलाई फाँसीको सजायँ सुनाएको थियो र त्यसलाई दिल्ली उच्च अदालतले पनि कायम राखेको थियो।

सर्वोच्च अदालतले यस मामिलाको सुनवाइ पछि मार्च २७ मा आफ्नो फैसला सुरक्षित राखेको थियो। सर्वोच्च अदालतले आफ्नो फैसलामा ४ जना दोषीलाई कुनै छुट दिन नसक्ने उल्लेख गरेको छ।

न्यायाधीश भानुमतिको अध्यक्षता रहेको तीन सदस्यीय पिठले भने– ‘यो बर्बरताका लागि माफी दिन सकिँदैन, यदि कुनै एउटा मामिलामा मृत्युदण्ड हुनसक्छ भने त्यो यहि हो। निर्भया काण्ड पीडाको सुनामी थियो।’

निर्भयाकी आमा आशा देवीले सञ्चार माध्यमसँगको कुराकानीमा भने– ‘म सबै समाजलाई धन्यवाद दिन्छु। हामी भविष्यमा पनि छोरीहरूका लागि यस्ता लडाइँ लड्ने छौ भन्ने मैल अपेक्षा गरेकी छु। कहिँ न कहिँ त कमजोर ब्यवस्था छ नै, तर आज अदालतमा ढिलो भए पनि न्यायमा अँध्यारो छैन भन्ने प्रमाणित भएको छ।

सन् २०१२ डिसेम्बर मा दिल्लीको मुनिरकामा ६ जनाले एउटा बसमा प्यारामेडिक छात्रालाई सामुहिक बलात्कार गरेका थिए। घटनापछि युवती र उनका मित्रलाई गुडिरहेको बसबाट बाहिर फ्याँकेका थिए।

डिसेम्बर १८ मा सोही घटनामा राम सिंह, मुकेश, विनय शर्मा र पवन गुप्तालाई प्रक्राउ गरियो। डिसेम्बर २१ मा सोहि मामिलामा एक नाबालिगलाई दिल्लीबाट र अर्को छैठो अभियुक्त अक्षय ठाकुरलाई विहारबाट गिरफ्तार गरियो।

सन् २०१२ डिसेम्बर २९ मा पीडित निर्भयाको सिंगापुरको एक अस्पतालमा निधन भयो। सन् २०१३ जनवरी ३ मा प्रहरीले पाँच बालिग अभियुक्त विरुद्ध हत्या, सामुहिक बलात्कार, हत्याको प्रयास, अपहरण, डकैती आदि आरोपमा मुद्दा दायर गर्यो।

जनवरी १७ मा फास्ट ट्र्याक अदालतले पाँचौं अभियुक्तमाथि आरोप तय गरियो। सन् २०१३ मार्च ११ मा राम सिंहले तिहाड जेलमा आत्म हत्या गरे। सोही वर्षको सेप्टेम्बर १० मा उक्त फास्ट ट्र्याक अदालतले ४ जनालाई १३ वटा अपराधमा दोषी ठहर्यायो र सेप्टेम्बर १३ मा मुकेश, विनय, पवन र अक्षयलाई मृत्युदण्ड सुनाइयो।

सन् २०१४ मार्चमा दिल्लीको उच्च अदालतले चारैजना दोषीको मृत्युदण्ड कायम रहने पैmसला दियो। उक्त फैसलाको विरुद्ध अभियुक्तहरू सर्वोच्चमा पुगे तर सर्वोच्चले पनि उक्त फैसलालाई सदर गरेको छ।