रातो मत्स्येन्द्रनाथको रथ चक्रबहीमा



काठमाडौँ, २१ वैशाख । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथ आज ललितपुरको चक्रबही पु¥याइएको छ ।

रथ वैशाख १७ गते वैशाख शुक्ल चतुर्थीका दिनदेखि ललितपुरको पुल्चोकबाट तान्न सुरु गरिएको थियो । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गोदान गरी भोलिपल्ट अर्थात् वैशाख शुक्ल चतुर्थीका दिनदेखि रथ तान्ने परम्परा छ । पहिलो दिन रथ गाबहालसम्म पु¥याइएको थियो । सोमबार रथ गाबहालदेखि मङ्गलबजारसम्म र मङ्गलबार मङ्गलबजारबाट रथ तानेर सुन्धारासम्म पु¥याइएको हो ।

बुधबार एक दिन रथ सुन्धारामा राखिने परम्परा रहेको गुठी संस्थान ललितपुरका कार्यालय प्रमुख वैकुण्ठ आचार्यले राससलाई जानकारी दिनुभयो । बुधबार सुन्धारामा राखिएको रथ आज त्यहाँबाट तानेर चक्रबहीसम्म ल्याइएको हो ।

शुक्रबार चक्रबहीबाट रथ तानेर लगनखेलमा पु¥याइन्छ । रथ शनिबार लगनखेलमा राखेर महाबलिसहित पूजा गरिन्छ । आइतबार रथलाई लगनखेल र थटीटोलका बीचमा लगी नरिवल जात्रा गरिन्छ । सोमबार बिहान महिला मात्रले रथ तानेर थटीटोल लैजाने गरिन्छ ।

रथ थटीटोलमा पुगेपछि साइत हेरेर अघि बढाइन्छ । राजा गुणकामदेवका पालामा १२ वर्षसम्म अनिकाल भएपछि कामरुप कामाक्षाबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको किंवदन्ती छ । एक हजार चार सय वर्षअघि मत्स्येन्द्रनाथलाई काठमाडौँ उपत्यकामा ल्याइएपछि वर्षा भई सहकाल सुरु भएको विश्वास रहिआएको छ । रासस