दोस्रो चरणको निर्वाचन अन्योलमा- नेता नेपाल


काठमाडौँ, २१ वैशाख । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले दोस्रो चरणको निर्वाचन अझै अन्योल रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तातरण तथा पुराना कार्यसमितिलाई बिदाइ कार्यक्रममा आज उहाँले निर्वाचनले सकारात्मक सन्देश दिए पनि अहिलेसम्म दोस्रो चरणको निर्वाचनबारे तयारी नगर्दा अन्योल रहेको बताउनुभयो ।

उहाँले पहिलो चरणको निर्वाचन र दोस्रो चरणको निर्वाचनबीच एक महिना लामो समय राख्न नहुने भन्दै जेठ १२ गतेभित्रमा दोस्रो चरणको निर्वाचन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

जेठ १५ गते बजेट आएपछि निर्वाचन हुने आफूहरुलाई मान्य नहुने उहाँको भनाइ थियो ।

उहाँले मधेसी मोर्चाको एक घटक सङ्घीय समाजवादी फोरम निर्वाचनमा आएकामा खुसी लागेको भन्दै लोकतन्त्रप्रति फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रतिबद्धता देखिएको बताउनुभयो ।
उहाँले लोकतन्त्र, राष्ट्रियता, विकास र सामाजिक रुपान्तरमा मुद्दा एक भएका दलसँग हालेमालो गरी अगाडि बढ्नका लागि ताममेल गरेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सचिव प्रभात चलाउनेले महासङ्घलाई पत्रकारको साझा संस्थाका रुपमा लैजानुपर्ने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष गोविन्द चौलागाईंले नवनिर्वाचित अध्यक्ष शन्तराम बिडारीलाई पद हस्तान्तरण गर्नुभएको थियो ।

यही वैशाख १० गते भएको शाखाको १०औँ अधिवेशनबाट बिडारी अध्यक्षमा निर्वाचित हुनुभएको थियो । रासस