चेक प्रमले आज राजीनामा दिने


प्राग, (एजेन्सी)
चेक प्रधानमन्त्री बोहुस्लाभ सावोत्काले बिहीबार राष्ट्रपतिसमक्ष आफ्नो पदबाट राजीनामा दिन लागेको सरकारी सञ्चारमाध्यमले बुधबार जनाएका छन्।

मंगलबार मात्र उनले आफ्नो अर्थमन्त्रीसँग चर्को विवाद परेको कारण पदबाट राजीनामा दिन लागेको घोषणा गरेका थिए।

बामपन्थी सोवोत्काले आफ्नो अर्बपति अर्थमन्त्री आन्दरेज बाबिससँग विवाद चुलिएको बताएका थिए। चर्चित मध्यमार्गी राजनीतिज्ञ बाबिसले यसै वर्षको उत्तरार्धमा हुने आम निर्वाचन जित्ने राजनीतिक विश्लेषकहरूको अनुमान रहेको छ।

राष्ट्रपति मिलोस जेमानका प्रवक्ता जिरी ओभ्कासेकले ट्विट गर्दै यस खबरको पुष्टि गरेका छन्। उनको राजीनामासँग सरकार स्वतः ढल्ने भएको छ। राजनीतिक विश्लेषकहरूले सोवोत्काले बाबिसलाई बर्खास्त गर्ने अनुमान गरेको बुझिएको छ। तर राष्ट्रपतिले आगामी अक्टोबरमा चुनाव सम्पन्न नहुन्जेलसम्म यही सरकारलाई काम चलाउ सरकारका रूपमा राख्ने देखिएको छ।