प्ले ब्वायका लागि पहाडमा खिचेको नग्न तस्वीर विवादमा पहाड आदिवासीको आस्था केन्द्र


अकल्यान्ड, (एजेन्सी)
प्लेब्वाय मोडल जेलिन कुकले न्युजिल्यान्डको माउन्ट टारानाकीको चुचरामा नग्न तस्वीर खिचाएकामा त्यहाँका आदिवासी समुदायले आपत्ति जनाएका छन्। कुकको उक्त फोटो सेसनपछि माओरी समुदायका सदस्यहरूले त्यसलाई सांस्कृतिकरूपमा असंवेदनशील कार्य भएको आरोप लगाएका छन्।

माउन्ट टारनाकी वास्तवमा एउटा ज्वालामुखी पहाड हो र माओरी आदिवासी यसलाई पवित्र मान्छन्। यहाँ माओरी समुदायका पूर्वजलाई गाडिएको भन्ने मान्यता छ। यो पर्वतलाई अहिले पनि माओरी समुदाय आफ्नो पूर्वजका रूपमा लिने गर्छन्।

परम्परागतरूपमा उक्त पर्वतमा चढ्नु नै गलत मानिन्छ तर कहिलेकाहीं रीतिरिवाजका क्रममा चढ्ने गरेको भने पाइन्छ। मनोरञ्जनका लागि उक्त पर्वत अन्य कुनै पर्यटक वा व्यक्तिले चढ्नुलाई माओरी समुदाय आफ्नो आस्थाको अपमान ठान्छन्।
माओरी समुदायका प्रवक्ता डेनिस गावरेले भने– ‘यो त्यसतो घटना हो जस्तो भ्याटिकनमा सेन्ट पिटर्स बासिल्कामा जानु र त्यहाँ नग्न तस्वीर लिनु। यो पवित्र स्थान हो र यस्तो गर्नु गलत थियो।’

जेलिन कुक आफै पनि न्युजिल्यान्डकी हुन्। यो तस्वीर उनले केही दिनअगाडि उक्त पहाडमा जाँदा खिचेकी हुन्। इन्स्टाग्राममा यो तस्वीर करिब १० हजारले लाइक गरिसकेका छन्।

माओरी समुदायका प्रवक्ताले उनीहरूले यसलाई सम्मानपूर्वक व्यवहार गरोस् भन्ने मात्र चाहेको बताए। त्यहाँका मेयरले पनि यस प्रकारको फोटो खिचाएकोलाई असंवेदनशील मानेका छन्। उनले भने– ‘मलाई तस्वीर अश्लील वा अभद्र छ भन्ने लाग्दैन। तर यो तस्वीर माउन्ट टारानाकीमा खिचाइएको हो जुन माओरी समुदायका लागि पवित्र स्थान हो।’

आफ्नो तस्वीरको विषयलाई उठेको विवादलाई लिएर जेलिन कुकले प्रष्टीकरण दिएकी छिन्। उनले तस्वीर लिनुअगाडि अनुसन्धान गरेको र आफूलाई यसरी तस्वीर खिच्नुले कसैलाई नराम्रो लाग्छ भन्ने नलागेको बताइन्।

यसअघि पनि यस्तै खालका केही घटनालाई लिएर माओरी समुदायले आपत्ति जनाइसकेको छ। यसअघि केही हाइकर्सले त्यहाँ बार्बिक्यु गरेका थिए र त्यहाँँ भित्ते चित्र ग्राफिटी लेखर छोडेका थिए।

सन् २०१५ मा मेलेसियामा पनि केही पश्चिमी पर्यटकले एउटा पहाड नांगै चढेका थिए। त्यसपछि त्यहाँ आएको भूकम्पलाई लिएर उक्त पवित्र पहाडको अपमानका कारण त्यसतो भएको बताइएको थियो।