कार्यपालिकामाथि हस्तक्षेप भएपछि महाअभियोग-माओवादी केन्द्र



काठमाडौँ, १८ वैशाख । कार्यपालिकाको क्षेत्राधिकारमाथि नै हस्तक्षेप गरेको पाइएपछि बाध्य भएर सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनुपरेको नेकपा (माओवादी केन्द्र)ले ठहर गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको माओवादी केन्द्रको हेडक्वाटरको बैठकले कार्यपालिकाको निर्णयमाथि अङ्कुश लगाउने कार्य कानुनी शासन र लोकतन्त्रविरुद्धको कदम भएको भन्दै महाअभियोगको विषयले स्वतन्त्र न्यायालयको गरिमा अझ बढाउने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाअभियोगको समग्र पक्ष र पाटोका बारेमा जानकारी गराउनुभएको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो ।

महाअभियोगको विषयले स्थानीय तहको निर्वाचनमा कुनै पनि बाधा उत्पन्न नहुने र सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको ठहरसमेत बैठकले गरेको छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, निर्वाचनको तयारी तथा संविधान संशोधन एवम् समग्र राजनीतिक अवस्थाका बारेमा छलफल भएको र बैठक पुनः साँझ बस्ने गरी स्थगित भएको प्रवक्ता भुसालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्