लोकसेवाले अब दरखास्त शुल्क बैंकमार्फत भुक्तानी लिने


काठमाडौँ, १७ वैशाख । लोकसेवा आयोगले विभिन्न पदमा दर्खास्त दिएस्वरुप आवेदन शुल्क बैंकमार्फत भुक्तानी लिने तयारी थालेको छ ।

आयोगमा आवेदन शुल्क बुझाउने भिड बढेपछि बैंकमार्फत भुक्तानी लिने व्यवस्था भइरहेको आयोगका कम्प्युटर निर्देशक रमेश शर्मा पौडेलले जानकारी दिनुभयो । अनलाइनबाट दर्खास्त भरे पनि आवेदन शुल्क बुझाउन आयोगकै कार्यालयमा आवेदक आउनेको भिड भएपछि आयोगले महालेखा नियन्त्रण कार्यालयको सहकार्यमा आवेदन शुल्क बैंकमार्फत गर्न थालेको हो ।

आयोगले अनलाइनमा दर्खास्त भरे पनि आवेदन शुल्क भुक्तानीका लागि आयोग वा हुलाकमार्फत आवेदनले रकम बुझाउने व्यवस्था गरेको थियो । आगामी आवदेखि आवेदनको बैंकमार्फत भुक्तानीको तयारी थालेको कम्प्युटर निर्देशक शर्मा पौडेलले जानकारी दिनुभयो । उहाँले आवेदन शुल्क भुक्तानीका लागि महालेखाको राजस्व व्यवस्थापन सूचना प्रणालीसँग आयोगको अनलाइन राजस्व व्यवस्थापन प्रणाली आबद्ध गराउने विषयमा छलफल भइहेको छ ।

“आवेदकले अनलाइनमार्फत फाराम भरेपछि महालेखा नियन्त्रणले तोकेको बैंकमा रकम जम्मा गर्नेछन्”, उहाँले भन्नुभयो, “यसरी रकम जम्मा भएपछि महालेखाको सूचना प्रणालीले आयोगको अनलाइनमा कसले कुन तहका लागि आवेदन शुल्क बुझाएको भन्ने थाहा हुन्छ ।” आयोगबाट खुलाइने विभिन्न पदको गत वर्षदेखि अनलाइन फाराम भर्ने व्यवस्था सुरु गरिएको हो । रासस