पार्टीका झण्डाले रंगियो हेटौंडा


हेटौंडा, (नेस)
हेटौंडा मेनरोडमा रोपिएका अशोकका बिरुवादेखि बिजुलीका पोल अनि पसलका बोर्डमासमेत चुनाव प्रचारप्रसारका लागि विभिन्न पार्टीका झण्डा टाँगिएका छन्।
बजारमा हुँइकिने ईरिक्सा र अटोजस्ता सवारीसाधनमा विभिन्न पार्टीका झण्डा देखिन्छन्। यसले दलहरू चुनाव प्रचारप्रसारमा केन्द्रित भइरहेको झल्को दिन्छ। अधिकांश राजनीतिक दलले चुनाव प्रचारका लागि जिंगल रेकर्ड गरेर चुनावी माहोल बनाइरहेका छन्।
तर, प्रचारप्रसारका नाममा केहीले स्वेच्छाले झण्डा हालेका छन् भने कोहीले ईच्छाविपरीत पार्टीका झण्डा सवारीसाधनमा राखेर हिँडीरहेका छन्।
‘चुनावको आयो भन्छन्, हामीजस्ता गरिबलाई काम लगाउँछन्, अनि जितेपछि फर्केर आउँदैनन्’, रौतहटबाट आएका महेशकिशोर यादवले गुनासो गरे।
आफ्नो सवारीमा झण्डा राखेपछि त्यही झण्डा हेरेर कतिपय मान्छे रिक्सा चढ्न नमान्दा उनलाई पर्नु पीर परेको छ।
यादवका अनुसार उनलाई इच्छाविपरीत गाडीमा झण्डा राख्न लगाइएको हो। उनी कुनै पार्टीको प्रचार गर्न रुचाउँदैनन्। ‘पछि झण्डा हटाउँदा रिसाउलान् भनेर त्यसो गर्न सकिनँ’, उनले भने।
हेटौंडामा लामो समयदेखि बस्दै आएकी मीना थिङ स्कुटरको दुवैतर्फ झण्डा राखेर हिँडीरहेकी छिन्। उनी आफ्नो ईच्छाअनुसार नै पार्टीको प्रचारमा लागेको बताउँछिन्।
करिब २० वर्षपछि निवार्चनको मिति तय गरिएसँगै देशमा निर्वाचनको माहोल बढेको छ। विभिन्न पार्टीका कार्यकर्ता र नेताहरू चुनाव प्रचारप्रसारमा जुटिरहेका छन् भने सर्वसाधारण पनि आफ्नो पार्टीको प्रचारका लागि घरका धुरीमा झण्डा टाँगेर र आफ्नो सवारीसाधनमा पार्टीको चुनाव चिह्नसहित झण्डा हालेर हिँड्न थालेका छन्।