तालाबन्दीको विषयमा प्रहरी–विद्यार्थी झडप


भद्रपुर, (नेस)
शैक्षिक विकृति अन्त्यको माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरूले जिल्ला शिक्षा कार्यालय झापामा तालाबन्दी गर्दा झडप भएको छ।

वर्तमान शिक्षा ऐन र नियमावलीविरुद्व सञ्चालित विद्यालयमा बढेको अनियन्त्रित शुल्क तथा भर्ना अभियानमा लिँदै आएको अवैध भर्ना शुल्क रोक्न नसकेको भन्दै शिक्षा कार्यालयमा तालाबन्दी गर्न गएका विद्यार्थीमाथि प्रहरीले दमन गर्दा झडप भएको हो।

झडपमा अनेरास्ववियुका रोशन सुवेदी, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सन्तोष उप्रेती र अखिल क्रान्तिकारीका सचिवालय सदस्य रवि बस्नेत घाइते भएका छन्।
विद्यार्थीको टोलीले जिल्ला शिक्षा अधिकारीको कार्यकक्षमा तालाबन्दी प्रयास गरेपछि तैनाथ रहेका प्रहरीले विद्यार्थी नेता तथा कार्यकर्तालाई लछारपछार पारेर शिक्षा कार्यालयबाहिर भगाएको थियो।

बिहानैदेखि तीन घेरामा परिचालित प्रहरीले विद्यार्थी आन्दोलन दमनका लागि पूर्णतयारी गरेको भए पनि सानो संख्यामा पुगेका विद्यार्थीको शक्ति कमजोर भएपछि भागाभाग भएका थिए।

जिल्ला शिक्षा कार्यालय झापाले निजी विद्यालयको माफियागिरी चलाएर विद्यार्थीको टाउको गनेर कमिसन खाएको आरोप लगाउँदै आइतबारबाट संस्थागत विद्यालय अनिश्चित बन्दको घोषणासमेत विद्यार्थी संगठनले गरेका छन्।

जिल्ला शिक्षा कार्यालयविरुद्ध आक्रोसित भएका विद्यार्थी संगठनका नेताहरूले शिक्षा कार्यालयअगाडि गेटमा कोण सभा गर्दै जिशिअ र विद्यालय प्रशासन हेर्ने कर्मचारीहरू शैक्षिक माफियाको कमिसन खेलमा परेर विद्यार्थीको भविष्यमाथि व्यापार गर्ने दलाल भएको आरोप लगाएका छन्।

कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सन्तोष उप्रेती, अनेरास्ववियुका झापा अध्यक्ष रोशन सुवेदी र अखिल क्रान्तिकारीका सचिवालय सदस्य रवि बस्नेतलगायतले सम्बोधन गर्दै शान्तिपूर्ण आन्दोलन दमन गर्ने जिशिअ योगेन्द्र बरालसित कुनै पनि किसिमको वार्ता नगर्ने घोषणासमेत गरेका छन्।
यसै गरी विद्यार्थी संगठनका प्रतिनिधिहरूले चर्को शुल्क असुलेको आरोप लगाएर चन्द्रगढीस्थित प्रज्ञा एकेडेमी, विभूति विद्या मन्दिरमा तालाबन्दी लगाएका छन्। यी विद्यालयहरूले भर्ना शुल्कमा ३ सय प्रतिशतसम्म बृद्धि गरेको अभिभावकहरूको गुनासो रहेको विद्यार्थी नेताहरूले जानकारी दिएका छन्।