जिप खस्दा तीनको मृत्यु


रुकुम, (नेस)
रुकुमको आठविसकोट नगरपालिकाको छेपारेबाट चिसापानी जाँदै गरेको जिप ठूली भेरीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

चौरजहारी नगरपालिका वडा नं. ८ का ११ महिने बालक श्रीजन बुढा, जाजरकोट जिल्ला सक्लाका २८ वर्षिय कुमवहादुर बस्नेत र सोही गाउँका १२ वर्षिय धनराज वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइतेहरूको नाम भने थाहा हुन नसकेको प्रहरीको भनाइ छ।
ग १ ज २०६ नम्बरको जिप शुक्रबार अपरान्ह सोही नगरपालिकाको पिपलचौर नजिकै भेरी नदीमा खसेको थियो।
गाडीमा १८ जना यात्रु सवार रहेको बुझिएको छ। गाडी चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय रुकुमको भनाइ छ।
गाडी के–कसरी दुर्घटना भयो अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ। घाइतेहरूको उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको प्रहरीको भनाइ छ।