पोल फेरिए पनि बिजुली बलेन


२०६४ सालयता ३ पटक बिजुलीको पोल फेरिए, उपभोक्ता समिति अध्यक्ष पनि ३ जना फेरिइसके तर गाउँलेले बिजुली पाएनन्। स्थानीय शिक्षक प्रमोद राईले उपभोक्ता समितिमा राजनीति हाबी भएकाले काम हुन नसकेको बताउनुभयो।

हेटौंडा, (नेस)

जनतालाई बिजुलीमा गरिएको हेपाहा प्रवृत्तिको हद मकवानपुरमा देखिएको छ। पूर्वी क्षेत्र राइगाउँमा विद्युतीकरण हुन नसक्दा करिब २ हजार ५ सय घरधुरी अध्याँरोमा बस्न बाध्य छन्।

विद्युतीकरणका लागि करिब ९ वर्षदेखि तार र पोल टाँगिए पनि हालसम्म विद्युत् पुग्न सकेको छैन।

विद्युत् विस्तारका लागि ३ वर्ष अघि खरिद गरिएको २ वटा ट्रान्समिटर पनि साविक राईगाउँ गाविस कार्यालयअघि बेवारिसे अवस्थामा रहेको पाइएको छ। लामो समयदेखि वेवारिसे अवस्थामा रहेको ट्रान्समिटर बिग्रिने अवस्थामा रहेको स्थानीयको भनाइ छ।
विद्युत् बिस्तारका लागि सरकारी तहबाट वर्षेनी रकम छुट्याइए पनि उपभोक्ता समितिको लापरबाहीको कारण बिजुली बल्न नसकेको स्थानीयको आरोप छ। ‘तार टाँगिएको ९ वर्ष भइसक्यो तैपनि बिजुली आएको छैन, लाइनको काम गर्न वर्षेनी पैसा आइरहेको छ भन्ने सुनिन्छ तर, काम भएको देखिँदैन,’ स्थानीय भुवनप्रसाद राईले भन्नुभयो।

हाल बाग्मती गाउँपालिकाअन्तर्गत् साविक राईगाउँका करिब १८ सय घरधुरी र फापरबारीका करिब ७ सय घरधुरीले विद्युत् सेवा प्राप्त गर्न सकेका छैनन्।

राईगाउँ स्थायी निवासी शेरबहादुर पहरी सभासद् हुँदा २०६४ सालमा सांसद् कोषमार्फत् १० लाख रुपियाँ विनियोजन गरेर बिजुली बिस्तार काम सुरु गरिए पनि हालसम्म गाउँमा बिजुली भने बल्न सकेको छैन। २०६४ सालयता ३ पटक बिजुलीको पोल फेरिए, उपभोक्ता समिति अध्यक्ष पनि ३ जना फेरिइसके तर गाउँलेले बिजुली पाएनन्। स्थानीय शिक्षक प्रमोद राईले उपभोक्ता समितिमा राजनीति हाबी भएकाले काम हुन नसकेको बताउनुभयो। अध्यक्ष बन्न होडबाजी गर्ने तर काम नगर्ने प्रवृत्तिले स्थानीयले दुःख पाएको उनको आरोप छ।

राईगाउँ विद्युत् विस्तार उपभोक्ता समिति सदस्य यज्ञबहादुर श्रेष्ठले समितिका अध्यक्ष जिम्मेबार नहुँदा विद्युत् विस्तारको काम प्रभावकारी नभएको आरोप लगाउनुभयो। ‘सरकारी तहबाट पैसा आएको छ, कामको जिम्मा लिने व्यक्ति सक्षम नहुँदा जनताले उज्यालोमा बस्न पाएनन्,’ उहाँले भन्नुभयो।

उहाँका अनुसार उपभोक्ता समिति २ वर्षदेखि निष्क्रिय छ। आर्थिक वर्ष २०७२÷७३ मा विद्युत् बिस्तारका लागि १७ लाख छुट्याइएकोमा ९ लाखको मात्र काम भएको श्रेष्ठले बताउनुभयो। ९ लाखको काम भएको देखाइए पनि पेश्की फछ्र्यौट नगरिएकाले चालू आर्थिक वर्षमा जिल्ला विकास समितिबाट बजेट नपरेको उहाँले बताउनुभयो।

विद्युत् बिस्तार समिति अध्यक्ष धनबहादुर थापामगरले आफूखुशी रकम खर्च गरेको र कुनै हिसाबसमेत नदेखाएको स्थानीयको आरोप छ। ‘प्रत्येक वर्षको अन्तिममा प्रगति विवरण बुझाएर अर्कोलाई अध्यक्ष हस्तान्तरण गर्नुपर्ने हो तर त्यो हुन सकेको छैन,’ समितिका सदस्य श्रेष्ठले भन्नुभयो–‘अध्यक्ष अहिले गाउँलेदेखि भागीभागी हिँडिरहेका छन््।’

शुरूमा काठको पोलमा विद्युत् तार टाँगिए पनि त्यसयता एकपटक काठको पोल फेरिएको र अहिले भने सिमेन्टको पोल गाडिएको उपभोक्ता समितिका सदस्य श्रेष्ठले बताउनुभयो। ‘प्राधिकरणसँग समन्वय नगरी लापरबाही ढंगबाट काम गरेको भन्दै प्राधिकरणले लाइन छाड्न नसक्ने भनेको छ।

अध्यक्षले यसमा चासो नदिँदा सिंगो गाउँ नै अन्धकारमा बस्न बाध्य छ,’ श्रेष्ठले भन्नुभयोे। बिजुली सेवा नपाउँदा गाउँमा मिल, काठ उद्योग, घरेलु उद्योगहरू सञ्चालनमा आउन नसकेको शिक्षक राईको भनाइ छ।