सुपरदोर्दी “ख” जलविद्युत् आयोजनाको क्षमता बढ्यो


नेपाल समाचारपत्र
लमजुङ
जिल्लामा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाको जडित क्षमता वृद्धि भएको छ। आयोजनाको ४ दशमलब ४ मेगावाट क्षमता बढेको छ। यसअघि कुल ४९ दशमलब ६ मेगावाट रहेको सो आयोजनाको जडित क्षमता अब ५४ मेगावाट पुगेको छ।
भूकम्पका कारण आयोजनाको बाँधस्थल क्षेत्रमा पहिरो गएपछि प्रवद्र्धक कम्पनी पिपुल्स हाइड्रो पावरले आयोजना स्थलको पुनः अनुसन्धान गरेको आयोजनको प्रवद्र्धक कम्पनी पिपुल्सका प्रबन्ध निर्देशक केशवबहादुर रायमाझीले बताउनुभयो।

उहाँका अनुसार अनुसन्धानमा खटिएको नर्वेजियन टोलीले आयोजनाको बाँध क्षेत्रमा पहिरो गएकाले दुईसय मिटर माथि बाँध सार्न सुझाव दिएको छ। भूकम्प गए लगत्तै हामीलाई केही शंका उत्पन्न भयो। त्यसपछि फेरि विस्तृत अनुसन्धान गर्यौं।

त्यसले बाँध क्षेत्रलाई दुई सय मिटर माथि सार्नु पर्ने अवस्था आयो रायमाझीले जानकारी दिनुभयो। अब आयोजनाको हेड ६०१ दशमलब ४२ बाट बढेर ६३८ मिटर पुगेको छ। आयोजनाको बाँध क्षेत्रलाई केही माथि सार्दा आयोजना निर्माणको लागत, केही डिजाइन र लागत समयमा फेरबदल हुन सक्ने रायमाझी बताउनुभयो। उहाँका अनुसार ४ हजार ८ सय मिटर लामो भूमिगत सुरुङमा एकसय ५० मिटर बढेको छ।

त्यसैगरी आयोजना निर्माणको लागत ८ अर्ब २९ करोड रुपियाँबाट बढेर ८ अर्ब ७३ करोड पुग्ने अनुमान गरिएको छ। ‘आयोजनाको उत्पादनमा पनि ४ दशमलब ४ मेगावाटको पनि प्राधिकरणसँग पीपीएको तयारी थालेका छौं।’ आयोजनाको सञ्चालक समितिका अध्यक्ष इजन बरालले बताउनुभयो। उहाँका अनुसार निर्माण थालिसकेपछि फेरि थपिएको विद्युत्को पीपीए गर्नुपर्ने भएको हो।

सो आयोजना ढोडेनी र फलेनीको बीच भागबाट बग्ने दोर्दी खोलाको पानीलाई प्रोमु खोला नजिकै बाँध बाँधेर झण्डै ४ हजार ९ सय ५० मिटर लामो भूमिगत सुरुङमार्फत् ताजे गाउँको फेदीमा रहेको लोदो र दोर्दी खोलाको दोभानमा विद्युत्गृह निर्माण गर्नेे लक्ष्य रहेको आयोजनाका निर्देशक अर्जुन गौतमले बताउन्ुभयो। उहाँका अनुसार दुईवटै अडिट टनेलको काम सकिसकेको प्रवद्र्धक कम्पनी पिपुल्सले २०७६ सालको असोज २० गतेभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ। उहाँका अनुसार नर्वेको एन्टीएनयूले आयोजनाको डीपीआरलाई रिभ्यू गर्दै छ।

रिभ्यूको काम भइरहन्छ हामी थप क्षमताको लागि पीपीएमा जाने तयारीमा लागेका छौं। दोर्दी करिडोरमा निर्माणाधिन अन्य तीन आयोजनामध्ये सुपर दोर्दी ‘ख’ जलविद्युत् आयोजना निर्माणका हिसावले कठिन भए पनि लगानीको दृष्टिकोणले निकै लाभदायक रहेको पिपुल्सका अध्यक्ष उदय नेपाली श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार प्रतिमेगावाट साढे १६ करोडको हाराहारीमा आयोजना निर्माण गर्नेछौं।

आयोजनामा स्व पुँजीमा प्रवद्र्धकको ६०, प्रभावित लमजुङबासीको १० र ३० प्रतिशत सर्वसाधारणको लगानी रहेको सुपर दोर्दी इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष इजन बरालले बताउनु भयो। उहाँका अनुसार नविल बैंकको नेतृत्वमा ५ अर्ब ८० करोड र इक्विटीबाट २ अर्ब ४९ करोड लगानी गर्नेछ। नदीको बहावमा आधारित यस आयोजनाबाट वार्षिक ३१३ दशमलब ५१ गिगावाट आवर विद्युत उत्पादन हुने अनुमान छ।

आयोजनाबाट उत्पादित विद्युतलाई झण्डै ५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरी दोर्दी करिडोरको कर्तिपुर सबस्टेशनमा जोड्ने गरी विद्युत प्राधिकारणसँग सम्झौता भएको छ।