विश्वका राजनेताहरूको तलब कति ?


नेपाल समाचारपत्र
काठमाडौं

विश्वका शक्तिशाली राजनेताहरूको चर्चा राजनीतिक रूपमा बढी हुन्छ। तर, उनीहरूको आर्थिक पक्ष धेरैलाई चासो भए पनि कम मात्रै जानकारी हुन्छ। यसैसन्दर्भमा विश्वका शक्तिशाली र छिमेकी राष्ट्र प्रमुखको आर्थिक अवस्था र उनीहरूको तलब अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले सार्वजनिक गरेका छन्।
डोनाल्ड ट्रम्प (राष्ट्रपति, अमेरिका)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत नोभेम्बरमा राष्ट्रपति पदमा विजयी भएसंँगै आफूले वार्षिक १ अमेरिकी डलरमात्र तलब लिने घोषणा गरेका छन्। तर, अमेरिकी राष्ट्रपतिको तलब भने वार्षिक ४ लाख अमेरिकी डलर रहेको छ। जुन रकम मासिक ३३ हजार ३ सय ३३ अमेरिकी डलर र दैनिक १ हजार ९५ अमेरिकी डलर पर्न जान्छ।

फोब्र्स पत्रिकाले सार्वजनिक गरेको यस वर्षको अर्बपतिको सूचीमा ट्रम्प विश्वमा ५ सय ४४औं स्थान र अमेरिकी अर्बपतिको सूचीमा १ सय ५७औं स्थानमा रहनुभएको छ। सन् २०१७ मा ट्रम्पको सम्पत्ति ३ दशमलब ५ अर्ब अमेरिकी डलर रहेकोछ। गत वर्ष ट्रम्पको सम्पत्ति ४ दशमलब ५ अर्ब अमेरिकी डलर रहेको थियो।
भ्लादिमिर पुटिन (राष्ट्रपति, रसिया)


रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको कुल सम्पत्ति कति छ भन्ने कुरा पुष्टि हुन सकेको छैन। तर, यसमा दुईमत छैन कि पुटिन विश्वका सबैभन्दा धनाढ्य राजनीतिज्ञ हुन।

फोब्र्सले पुटिनको सम्पत्ति ४० अर्ब अमेरिकी डलरभन्दा बढी हुनससक्ने बताएको छ। पुटिनको सबैभन्दा ठूलो लगानी इन्धन, ऊर्जा, हतियार र जग्गामा रहेको छ। पुटिनको वार्षिक तलब १ लाख ३५ हजार ७ सय ३६ अमेरिकी डलर र मासिक ११ हजार ३ सय ११ अमेरिकी डलर रहेको छ। यसरी हेर्दा दैनिक ३ सय ७२ अमेरिकी डलर हुन जान्छ। सन् २०१५ मा पुटिनले आफू र आफू मातहतका कर्मचारीले तलबको १० प्रतिशत नलिने घोषणा गरेका थिए।

एन्जेला मर्केल (जर्मन चान्सलर)


जर्मन चान्सलर एन्जेला मर्केलको २ लाख ५५ हजार १ सय ९९ अमेरिकी डलर वार्षिक तलब रहेको छ। उनको कुल १ करोड १५ लाख अमेरिकी डलर बराबरको सम्पत्ति रहेको छ। सन् २००५ मा जर्मनीको चान्सलर भएकी मर्केल वैज्ञानिक पनि हुन्। अन्तर्राष्ट्रिय पत्रिका फोब्र्सले यस वर्षको विश्वका शक्तिशाली महिलाहरूको सूचीमा मर्केललाई पहिलो नंम्बरमा राखेको छ। त्यस्तै रिचेस्ट नामक अन्तर्राष्ट्रिय म्यागेजिनका अनुसार मर्केलको सम्पत्ति ११ दशमलब ५ मिलियन अमेरिकी डलर रहेको छ।
थेरेसा मे (प्रधानमन्त्री, बेलायत)

बेलायतकी प्रधानमन्त्री थेरेसा मेको तलब वार्षिक २ लाख ७ हजार ८ सय ३६ अमेरिकी डलर र मासिक १७ हजार ३ सय २० अमेरिकी डलर रहेको छ। सन् २०१६ को जुलाईमा बेलायतको प्रधानमन्त्री भएकी मेका धेरैजसो व्यक्तिगत कुरा अझै पनि सार्वजनिक हुन सकेका छैनन्।
थेरेसा मेका श्रीमान फिलिप जोन मे बेलायतको इन्भेस्टमेन्ट फन्ट क्यापिटल ग्रुपका सिनियर एक्जुकेटिभका रूपमा कार्यरत छन्। थेरेसा मेको कुल सम्पत्ति २५ मिलियन अमेरिकी डलरभन्दा बढी छ।
सी जिङपिङ (राष्ट्रपति, चीन)

द रिचेस्ट नामक पत्रिकाका अनुसार चिनियाँ राष्ट्रपति सी जिङपिङ गरिब राष्ट्र प्रमुखहरूको सूचीमा आठौं स्थानमा छन्।

तर, सीको कुल सम्पत्ति कति छ भन्ने कुरा भने उक्त पत्रिकाले खुलाएको छैन। सी जिङपिङको वार्षिक तलब २० हजार ८ सय ६ अमेरिकी डलर र मासिक तलब १ हजार ७ सय ३४ अमेरिकी डलर रहेको छ। उनले जनवादी गणतन्त्र चीनको राष्ट्रपति, चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा सेन्ट्रल मिलिट्री कमिसनका प्रमुखका रूपमा काम गरिरहेका छन्।
प्रणव मुखर्जी (राष्ट्रपति, भारत )
द रिचेस्ट नामक पत्रिकाले सार्वजनिक गरेको गरिब राष्ट्र प्रमुखको सूचीमा भारतका १३आंै राष्ट्रपति प्रणव मुखर्जीलाई छैठौ स्थानमा राखेको छ। उक्त पक्रिकाले मुखर्जी मध्यमवर्गीय पारिवारिक पृष्ठभूमिका बारेमा लेखे पनि पैतृक सम्पत्ति र हालको सम्पत्ति भने खुलाएको छैन।

गत फेबु्रअरी महिनामा भारतको गृह मन्त्रालयले राष्ट्रपतिको मासिक तलब २३ सय ५५ अमेरिकी डलर (५ लाख भारतीय रुपियाँ) प्रस्ताव गरेको थियो। यसअघि मुखर्जीको वार्षिक तलब २६ हजार ९ सय ४० अमेरिकी डलर थियो।
(विभिन्न समाचार एजेन्सीहरूको सहयोगमा)