हेटौंडामा भित्रियो तीनपांग्रे आरई


हेटौंडा,(नेस)

नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने र बजाज अटो इण्डियाका प्रबन्धक अरूण सिन्हाले शुक्रबार हेटौंडामा न्यु होराइजन अटो प्रालि संयुक्तरूपमा उद्घाटन गरेका छन्।

न्यु होराइजन सञ्चालक रमेशरत्न बज्राचार्य र लालकाजी बज्राचार्यले बजाज आरई अटो शुक्रबार बुक गर्ने तीन क्रेतालाई मायाको चिनो हस्तान्तरण गरेका थिए।

वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीलाई देशभित्र रोजगारीको अवसर सिर्जना गरी आर्थिकरूपमा सम्पन्न बनाउन बजाजले अटो ल्याएको बताएको छ। सामान्यतया छोटो दुरीको यात्राका लागि लक्षित गरी अटोरिक्सा ल्याइएको हो।

भारतीय मल्टीनेसनल कम्पनी बजाजले नेपालको एचएच बजाजमार्फत् नेपालमा बजाज आरई टेम्पो रिलिज गरेको हो। बजार आरई कालो, पहेंलो र हरियो रंगमा बजारमा उपलब्ध छ। १९८ दशमलब ८८ सीसीको टेम्पोको पावर ९ किलोवाट छ भने ४ स्ट्रोकको डीटीएसआई इञ्जिन छ। पहिलेको मोडल भन्दा बढी यो मोडल प्रभावकारी भएको कम्पनीले दाबी गरेको छ।

आरईमा ४ वटा अगाडि र एक वटा पछाडि जाने कुल पाँच गियर छ। पेट्रोलबाट सञ्चालन हुने टेम्पोको तौल ३ सय ३७ केजी छ। उचाईं १ दशमलब ७ मिटर, लम्बाई २ दशमलब ६ मिटर र चौडार्इं १ दशमलब ३ मिटर रहेको टेम्पोको हिवलवेस २ हजार एमएमको छ।

करिब एक वर्षअघि हेटौंडामा २५ वटा अटो बिक्री शुरू गरेको न्यु होराइजनले एक वर्षमा तीन सय वटा अटो बिक्री गरिसकेको सञ्चालक रमेशले बताउनुभयो। बजाजले सवारीसाधन बिक्रीपछिको मर्मतमा पनि उत्तिकै सेवा दिएका कारण उपभोक्ताले बढी रुचाएको न्यौपानेले बताउनुभयो। ग्रामीण क्षेत्रमा पनि तीन यात्रु लिएर सजिलै पुग्नसक्ने भएकाले बजाजका तीन पांग्रे अटोले यात्रुको विश्वास जित्न सफल भएको न्यौपानेको भनाइ छ।

भारतीय बजारमा बजाजका उत्पादन लोकप्रिय रहेको बजाज इण्डियाका प्रबन्धक सिन्हाले जानकारी दिनुभयो। पछिल्लो समयमा नेपाली बजारमा बजाजका सवारी युवादेखि उमेर ढल्केका उपभोक्ताले अत्यधिकरूपमा रुचाएको प्रवन्धक सिन्हाले बताउनुभयो।