सुदूरमा औलोरोग नियन्त्रणमा चुनौती


विमल विष्ट, डोटी ।
सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षेनी औलो रोगीको संख्या बढ्दै गएपछि नियन्त्रणमा चुनौती बढ्दै गएको छ ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय राजपुर डोटीका मेडिकल अधिकृत डाक्टर लोकेश्वर मर्हजनका अनुसार पहाडी जिल्लामध्ये बैतडी र डडेल्धुरामा औलो रोगी बढी देखापरेकाले नियन्त्रणमा चुनौती थपिएको हो ।

उहाँका अनुसार यो वर्ष मात्रै बैतडीमा ३९ जनामा औलो देखिएका छन् । २०७२ बैशाखमा बैतडीमा ३४ औलो रोगका बिरामी फेला परेका थिए । बैतडीको महारुद्र, सिद्धनाथ, मेलौली र विशालपुरमा औलाका संक्रमित बढी भएको चिकित्सकहरु बताउछन् ।

यसैगरी, डडेल्धुराको पर्शुराम नगरपालिका, आलिताल गाउँपालिका, भागेश्वर गाउँपालिका पनि औलो रोगको जोखिममा रहेको डाक्टर मर्हजनले बताउनुभयो । डडेल्धुरामा गत वर्ष १४ र यो वर्ष ९ जना बिरामी देखा परेका छन् ।

डोटीमा २ वर्षमा २ जनामा औलोको संक्रमण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका सूचना अधिकारी तेजविक्रम शाहीले जानकारी दिनु भयो । उहाँले भन्नु भयो ‘अन्य जिल्लाको तुलनमा डोटीमा औलोको संक्रमण भएका कमै बिरामी भेटिए पनि तराईमा हुने औलोरोग क्रमिक रुपमा पहाड तिर सर्दै गएकाले नियन्त्रणमा चुनौती थपिदैछ ।’

२ सय ६९ जनामा औलो संक्रमीत
सुदूरपश्चिममा चालू आर्थिक वर्ष २०७३/०७४ मा २ सय ६९ जना औलो रोगी देखा परेका छन् । तीमध्ये ६० जनामा कडा र २ सय ७४ मा सामान्य प्रकारको संक्रमण रहेको बताइएको छ ।

कैलालीमा मात्र ४५ औलोका संक्रमित उपचारका लागि अस्पताल पुगेको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका सूचना अधिकारी रमेश मलासीले जानकारी दिनु भयो ।

कञ्चनपुरमा १ सय ९० औलोका संक्रमित देखापरेका छन् । लामखुट्टेको टोकाइबाट औलो सर्ने भएकाले यसबाट बच्न झुलको प्रयोग र वातावरण सरसफाईमा ध्यान दिनुपर्ने क्षेत्रीय स्वास्थ्य निर्देशनालय दीपायल राजपुरका मेडिकल अधिकृत डाक्टर लोकेश्वर मर्हजनले बताउनु भयो ।