व्यवस्थित हुँदै जुंगे महादेव


न्ेपाल समाचारपत्र, बाँके । बागेश्वरी मन्दिर परिसरमा पोखरीको बीचमा रहेको जुंगे महादेव नयाँ बन्ने भएको छ । पेगौडा शैलीको मन्दिर र त्यहाँ जानका लागि दुईतर्फी पुल निर्माण गर्ने काम अघि बढेको छ ।

जिल्ला समन्वय समितिले छुट्याएको २० लाखले परामर्शदाता छनौट गरेर मन्दिर र पुलको ‘डिजाइन’ गरिएको छ । विभिन्न थरीका डिजाइनमध्ये शुक्रबार यहाँका राजनीतिक दल, पूजारी, नागरिक समाजले पेगौडाशैलीमा मन्दिर र दुईतर्फी पुल बनाउन सहमति जनाएका हुन् ।
नेपालमा एकमात्रै जुंगे महादेवको मूर्ति रहेको बागेश्वरीमा त्यसको राम्रो व्यवस्थापन हुन सकेको छैन । दश रोपनीमा फैलिएको पोखरीको बीचमा रहेको जुंगे महादेवको मन्दिर र पुललाई व्यवस्थित गर्न पुरातत्व विभागले समेत चासो देखाएको छ ।
पोखरीमा ठूल्ठूला कछुवा रहेकाले पानी सुकाएर पुल निर्माण गर्न अप्ठेरो पर्नेबारेमा समेत छलफल भएको थियो । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, एराप्रपा, मधेसवादी दलका नेताले जुंगे महादेवको पेगौडा शैलीमा मन्दिर र दुईतर्फी पुल निर्माणमा जोड दिएका छन् । ‘एकातिरबाट जान्छन्, पूजा गरेर अर्कोतिरबाट फर्किन्छन्, यो यस्तो पुल उत्तम हुन्छ, मन्दिरका महन्थ चन्दननाथ योगीले भन्नुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले चैत्र ६ गतेको गुठीलगायतको समितिको बैठकले जुंगे महादेव मन्दिरको जिर्णोदार र पुल निर्माण गर्नुपर्ने निर्णय गरेको बताउनुभयो । त्यही अनुरुप परामर्शदाता बोलाएर अवलोकन गराइएको थियो । दुई महिनाअघिदेखि मन्दिर र पुलको विभिन्न डिजाइन गरेको परामर्शदाताले शुक्रबार राजनीतिक दल, प्रशासन, नागरिक समाजका अगुवालाई बोलाएर देखाएको थियो ।
पश्चिम नेपालको प्रसिद्ध मन्दिर बागेश्वरीमा आउने भक्तजनले पोखरीको बीचमा रहेको जुंगे महादेवको दर्शन गर्ने गर्दछन् । जुंगे महादेवको मन्दिर र त्यहाँ पुग्ने पुलको व्यवस्थापन गरिरहदा पोखरीमा तारबारको आवाज पनि उठेको छ । पोखरीमा व्यवस्थित पर्खाल नहुँदा त्यो आत्महत्याको थलो बन्ने गरेको छ । घरपरिवारबाट बिरक्तिएका, रिसाएर हिडेका, मदिराले लठिएर आवेगमा आएकाहरु त्यही पोखरीमा गएर आत्महत्या गर्ने गरेको पाइन्छ ।
बागेश्वरी मन्दिरमा नवरात्री, शिवरात्रीलगायतका चाडमा बढी घुँइचो लाग्ने गर्दछ । नेपालका साथै यो मन्दिरमा भारतबाट समेत दर्शनार्थीहरु आउने गर्दछन् । बागेश्वरी मन्दिर २०२४ सालमा बनेको अभिलेख रहेको छ ।