बुझाउनै मानेनन हतियार


मोतीराम तिमल्सिना, काभ्रे ।
निर्वाचन केन्द्रित गरी बैध तथा अबैध हतियारहरु बुझाउन प्रहरीले गरेको आग्रहलाई केहिले पालना गरेका छन् भने केहिले अटेर गरेका छन् । शनिबार सरकारले दिएको म्याद सकिदैछ ।

अटेर गर्नेहरुलाई प्रहरीले घर घर पुगी पक्राउ र हतियार बरामद गर्न थालेको छ । तर पनि नविकरण गरिएका १८ हतियार मध्ये अनुमति लिएर घरमा राखिएका ६ थान हतियारमात्रै जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाईएको छ । पनौती स्थित तेजप्रताप सिंह कार्की र अम्बुभवानी कार्कीको नाममा रहेको १२ बोर बृज लोडिङ्ग भएको एक थान बन्दुक पनौती प्रहरी चौकीमा बुझाईएको छ ।

उक्त बन्दुकको १६ राउण्ड गोली थियो । चैत्र २० गते प्रहरी चौकी पनौतीमा उक्त हतियार बुझाईएको छ । त्यस्तै नयाँगाउँ देउपुर घर भएका हरीबहादुर तामाङसँग रहेको २ नाले १२ बोर बृज लोडिङ्ग बन्दुक नाल १, १० राउण्ड गोली सहित चैत्र २१ गते प्रहरी चौकी देउपुरमा बुझाईएको छ ।

धुलिखेल नगरपालिका २ स्थित सिताराम श्रेष्ठका घरमा रहेको २ नाले १२ बोर बृज लोडिङ्ग बन्दुक नाल १ बन्दुक जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाईएको छ । ज्याम्दी ६ का इन्द्रबहादुर क्षेत्रीले भरुवा बन्दुक चैत्र २३ गते दोलालघाट प्रहरी चौकीमा बुझाएका छन् भने धुलिखेल ४ का पशुपतिनाथ श्रेष्ठले २२ बोरको १ नाले बन्दुक चैत्र २४ गते जिल्ला प्रहरी कार्यालय काभ्रेमा बुझाएका छन् ।
त्यस्तै उग्रतारा ८ का चित्रबहादुर खड्काले १२ बोरको दुई नाले बन्दुकको १ नाल चैत्र २७ गते इलाका प्रहरी कार्यालय बनेपामा बुझाएको छ । प्रहरीले अबैध रुपमा मण्डन देउपुर नगरपालिका १० चण्डेनीमा रहेको भरुवा बन्दुक बरामद गरेको छ ।

सोहि ठेगाना घर भएका ६८ बर्षका मानबहादुर क्षेत्रीको बारीमा बेवारिसे अवस्थामा उक्त बन्दुक प्रहरीले फेला पारेको हो । रोशी गाउँपालिका वडा नम्वर १० बाल्टिङ्ग सोहोरे भन्ने स्थानबाट इप्रका मंगलटार प्रहरी चौकीले सोहि ठेगानाका ६० बर्षिय रामबहादुर मोक्तानको घरबाट चैत्र ३१ गते भरुवा बन्दुक नाल १ फेला पारेको छ ।
मोक्तानलाई हतियार सहित पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरी प्रमुख एसपी सहकुलबहादुर थापाले जानकारी दिए । प्रवत्ता एवं डिएसपी नविनराज राईका अनुसार अबैध वा बैध हतियार जे भए पनि बैशाख १५ भित्र बुझाउन विभिन्न क्षेत्रबाट गरिएको अनुरोधलाई कार्यान्वयन गर्न सर्वसाधारणसँग अपिल गरिएको थियो । उक्त अवधी पछि बैध वा अवैध जे भए पनि कानुन अनुसार कारवाही हुने राईले जानकारी दिए ।