प्रहरी गुनासो हटलाइनको व्यवस्था


नेपल समाचारपत्र, काठमाडौं । प्रहरीले गुनासो हटलाईन सेवाको ब्यबस्था गरेको छ ।

प्रहरीबाट पाउनुपर्ने सेवाहरु सर्वसाधारण तथा पीडितहरुले सहजरुपमा पाउन नसकेको र समस्याहरु झेल्नु परेको अवस्थामा विभिन्न विषयहरुसँग सम्बन्धित गुनासाहरुलाई हटलाइन माध्यम लगायतबाट सिधै प्रहरी प्रधान कार्यालयमा सर्वसुलभ र सहज ढंगले तत्कालै राख्न पाउने सुविधाको लागि प्रहरी प्रधान कार्यालयले पुलिस कम्प्लेन्ट हटलाइनको व्यवस्था गरेको छ । सो सेवाको लागि टेलिफोन नम्बर ०१–४४१०१४४ वा निशुल्क क्जयचत अयमभ नम्बर १११३ मा डायल गर्न सकिने छ ।

प्रहरी सेवा प्राप्त नभएको खण्डमा, प्रहरी कर्मचारीहरु आफ्नो काम कर्तव्यप्रति उदासिन रही सेवा प्रवाह नगरेमा, जाहेरी दरखास्त लिन नमानेमा वा दर्ता नगरेमा वा झुट्टा उजुरी दर्ता गरेमा, व्यावसायिक तवरले अनुसन्धान नगरेको लागेमा, कानून विपरित थुनामा राखेमा, निर्दोष व्यक्ति पक्राउ परेको सम्बन्धमा, आर्थिक लाभ लिन खोजेमा, पदीय दुरुपयोग गरी अनावश्यक दवाव दिएमा र व्यावसायिक ढंगले प्रहरी आचरण व्यवहार नगरेमा उक्त हटलाइनहरुमा उजुरी गर्न सकिने छ ।
उक्त नम्बरहरुमा जुनसुकै समयमा पनि सहजरुपमा गुनासाहरु राख्न पाइने, सुनुवाईको लागि जिम्मेवार प्रहरी कर्मचारीको व्यवस्था भएको तथा प्राप्त हुन आएका गुनासाहरुलाई सम्बोधन र व्यवस्थापनको लागि सम्बन्धित बिषयमा सम्बन्धित इकाईमा प्रकृयागत रुपमा पठाई उचित कारबाहीको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

उजुरी पश्चात भए गरेका काम कारबाही, प्रगति र परिणामबारे एसएमएस वा इमेल मार्फत गुनासोकर्ता सेवाग्राहीलाई जानकारी उपलब्ध गराइने तथा आगामी दिनहरुमा यस व्यवस्थालाई अझ परिमार्जित गर्दै अन्य प्रविधिहरुलाई एकिकृत रुपमा प्रयोग गरेर सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गरिने प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयले जनाएको छ ।