मानव ओसारपसारमा संलग्न गिरोह पक्राउ


काठमाडौं (नेस)। बिपन्न महिलाहरूलाई भारत हुँदै ओमान ओसारपसार गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जले बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं जोरपाटी बस्ने सिन्धुपाल्चोक, शिपापोखरी–४ का सरोज भन्ने तोकबहादुर तामाङ, काठमाडौं महानगरपालिका–३१, बागवजार बस्ने झापा जुरोपानी–५ का मेदनीप्रसाद प्रसाई र काठमाडौं गोकर्णेश्वर–८ बस्ने सिन्धुपाल्चोक, मार्मिङ गाविस–५ का निमा तामाङ रहेका छन् ।

उनीहरूमध्ये तोकबहादुरले महिलाहरूको राहदानी बनाई संकलन गरी मेदनीप्रसादलाई दिने र बिभिन्न स्थानबाट महिलाहरूलाई काठमाडौंका विभिन्न होटलहरूमा जम्मा गरी राख्ने, दिल्लीसम्म पठाउने व्यवस्था गर्ने गरेको तथा मेदिनीप्रसादले महिलाहरूको राहदानी संकलन गर्ने र काठमाडांैबाट दिल्लीसम्मको टिकट व्यवस्थापन गर्ने गरेको एवं निमाले महिलाहरूको राहदानी तथा विवरण कुरियर गरेर दिल्ली पठाउने गरेको खुल्न आएको छ ।

उक्त गिरोहले महिलाहरूलाई आकर्षक रोजगारीको प्रलोभन देखाएर बिभिन्न सिमा नाकाबाट भारतको नयाँ दिल्लीसम्म पु¥याई ओमान पठाउने भनी २ नेपाली युवतीलाई बुधबार काठमाडौं महानगरपालिका–२९ गोंगबु मित्रनगरस्थित एक गेष्टहाउसमा राखेको अवस्थामा ब्यूरोको टोलीले उद्दार गरी उनीहरूलाई पक्राउ गरेको हो ।

मानव वेचविखन तथा ओसारपसार अपराध मुद्दामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।