दिपायल विमानस्थल कालोपत्रेको काम तिब्र गतिमा


विमल विष्ट,डोटी ।
विगत दश वर्षअगाडि देखि गौचरनमा परिणत भएको दीपायल विमानस्थलको कालोपत्र गर्ने कार्य तिब्र रुपमा सुरु भएको छ ।

असारमा कालोपत्र गर्नका निम्ति निस्किएको टेन्डर गत कात्तिकमा आएर सम्झौता भइसकेपश्चात् तिब्र रुपमा कार्य अगाडि बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत बालकृष्ण रेग्मीले बताउनुभयो ।

विमानस्थललाई कालोपत्र गर्नका निम्ति आवश्यक सामान दीपायल ल्याई काम द्रूत गतिमा सुरु भएको उहाँले जानकारी दिनुभयो ।

सपना गाल्बा जेवी निर्माण कम्पनीले कालोपत्र गरिरहेको विमानस्थलमा करिब रु पाँच करोड ५० लाखको रकम खर्च हुने विमानस्थल कालोपत्रका साइट इन्चार्ज समेत रहनुभएका अधिकृत रेग्मीले जानकारी दिनुभयो ।

करिब साढे चारसय मिटर लम्बाइ भएको यो विमानस्थलको कालोपत्र गर्ने कार्य १५ महिना भित्रै सकिने बताइएको छ । सुदूरपश्चिमको क्षेत्रीय सदरमुकाम दीपायलमा अवस्थित विमानस्थल तिब्र गतीमा कालोपत्रे भईरहँदा यहाँका जनतामा खुसि छाएको छ ।

दश वर्षदेखि ओझेलमा परेको विमानस्थल कालोपत्र गर्नका निम्ति डोटी क्षेत्र नं २ का सांसद प्रेमबहादुर आलेमगरले आफूले ठूलो मिहेनत गर्नु परेको बताउनुभयो ।

उहाँले भन्नु भयो ‘डोटेली जनताको माया र स्नेहले आफूलाई यो बमिानस्थलको विकास गर्नका निम्ति थप उत्साह दिएको छ ।’ अबका दिनमा विमानस्थललाई नियमित सञ्चालनका निम्ति यहाँका जनताले सहयोग गर्नुपर्नेमा सांसद आलेमगरले बताउनु भयो ।

सुदूरपश्चिमको मुटुमा रहेको यो विमानस्थल कालोपत्र हुने भएपछि छिमेकी जिल्ला अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, दार्चुला लगायतका जनतालाई सहज हुने छ ।