अधिकारी र पोखरेल सम्मानित


काठमाडौं, (नेस)
वरिष्ठ हाड जोर्नी विशेषज्ञ डा. विहारीलाल श्रेष्ठको स्मृतिमा मंगलबार काठमाडौंमा समाज सेवामा सक्रिय दुई व्यक्तित्वलाई डा. विहारीलाल श्रेष्ठ स्मृति कोषले सम्मान गरेको छ।

स्मृति कोष तथा मातृभूमि सेवक संघ नेपालको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा समाजसेवी भीमबहादुर अधिकारीलाई राष्ट्रसेवा पुरस्कार नगद राशी २५ हजार एक रुपियाँसहित प्रदान गरियो।

त्यस्तै योगाचार्य यदुनाथ पोखरेललाई आदर्श पुरस्कार १० हजार १ रुपियाँ नगद राशीसहित प्रदान गरियो। पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रदान गर्नुभएको थियो।

प्रमुख अतिथि कुलपति उप्रेतीले डा. विहारीलाल श्रेष्ठको सामाजिक र आध्यात्मिक सेवाका विषयमा चर्चा गर्नुभएको थियो। साहित्यकार श्रीओम रोदनले डा. विहारीलालसँगको आफ्नो सम्बन्ध विस्तारबारे उल्लेख गर्नुभएको थियो।

मातृभूमि सेवक संघ नेपालका अध्यक्ष भरतमणि रिसालको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. विहारीलालका दाजु बिन्दुलाल श्रेष्ठ, कोषकी संरक्षक निर्मला श्रेष्ठलगायतले बोल्नुभएको थियो।

कार्यक्रममा हिन्दु विद्यापीठ थली तथा ललितपुरका विद्यार्थी तथा मातृभूमि सेवा संघका दिदीबहिनीहरूले जागरण एवं भजन गाएका थिए।